युवतीको पछाडिपट्टि हस्तमैथुन गरेर वीर्य स्खलन गर्नेेेेकाे ‘घृणित हर्कत

everest kitchen

 

मातृका दाहाल

काठमाडौँ — सामाजिक सञ्जाल फेसबुकमा २०७५ माघ ११ गते एउटा अश्लील भिडियो सार्वजनिक भयो । लगनखेल–स्वयम्भू रुटको सार्वजनिक बसमा युवकले अपरिचित युवतीको पछाडिपट्टि हस्तमैथुन गरेर वीर्य स्खलन गरेको ‘घृणित’ भिडियो सार्वजनिक गरेका थिए । ती युवक को हुन् भन्ने न भिडियोबाट पहिचान गर्न सकिन्थ्यो, न पीडित युवती नै ।

आफ्नो शरीरमा वीर्य स्खलन भइरहेकोबारे ती युवती पनि जानकार थिइनन् । तर सार्वजनिक सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म वीर्य स्खलन गर्ने युवकमाथि कारबाही माग गर्दै चर्को आक्रोश पोखियो ।

भिडियो फेसबुकमा मात्र होइन, युट्युब र अश्लील भिडियो उत्पादक अमेरिकी कम्पनी ‘पोर्नहवडटकम’ को वेबसाइटमै अपलोड भइसकेको थियो । प्राविधिक अनुसन्धानमा भिडियो साउन २५ मा खिचेर मंसिरमा अपलोड गरिएको पत्ता लाग्यो । मंसिरमा नक्कली फेसबुक अकाउन्टबाट अपलोड भिडियो माघमा ‘वुमन्स वारियर’ नामको अर्को फेसबुक पेजबाट पनि सार्वजनिक गरिएको थियो । भिडियो भाइरल भएपछि ती युवती महानगरीय अपराध महाशाखामा उजुरी दिन पुगिन् । नाम गोप्य राख्ने गरी उनले उजुरी दिइन् । पीडितको नाम अहिले पनि गोप्य नै राखिएको छ । उजुरीले उक्त बस कुन रुटमा चल्छ भन्ने यकिन भयो । यसले अनुसन्धानलाई केही सहज भए पनि अझै अभियुक्तसम्म पुग्न प्रहरीलाई कठिन थियो ।

‘न समाउने हाँगो, न टेक्ने ठाउँ भनेझैं भयो,’ सुरुदेखि अनुसन्धानमा संलग्न महानगरीय अपराध महाशाखाका एक अधिकृतले भने, ‘सामाजिक सञ्जालबाट आएको दबाब र अनुसन्धानमा देखिएको सकस दुवै कारण हामी कसरी पत्ता लगाउने भन्नेमा अन्योल थियौं ।’ अपराध गर्नेले जति नै घटना लुकाउन खोजे पनि अनुसन्धानमा केही न केही प्रमाण फेला पर्छ । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), साइबर ब्युरो र महानगरीय अपराध महाशाखाले भिन्नाभिन्नै रूपमा घटनाको सूक्ष्म अनुसन्धान गरिरहे । अनुसन्धानकै क्रममा अपराध महाशाखाले अमेरिकी कम्पनी पोर्नहवडटकम, फेसबुक मुख्यालय र गुगलडटकमलाई अनुसन्धानमा सघाइदिन भन्दै प्राविधिक विवरण उपलब्ध गराउन आग्रहसहित छुट्टाछुट्टै इमेल पठायो । भिडियो अपलोडबारे फेसबुक मुख्यालयले महाशाखालाई २०१९ जनवरी २७ मा पत्र पठाउँदै भिडियो कतारको ‘भर्चुअल प्राइभेट नेटवर्क’ (भीपीएन) प्रयोग गरेर अपलोड गरिएको जानकारी दियो । यसबारे कतारबाटै जानकारी लिन भन्यो । पोर्नहवले अमेरिकी भीपीएन प्रयोग गरेर भिडियो अपलोड भएको जानकारी गरायो । तर गुगलले प्रहरीलाई विवरण दिन मानेन । पोनहर्व र फेसबुकका छुट्टाछुट्टै विवरणले अनुसन्धानमा झनै अन्योल थपियो ।

पोर्नहवले प्रहरीलाई पठाएको एउटा इमेलले भने अनुसन्धानलाई सहज बनाइदियो । भिडियो पोर्नहवमा अपलोड गर्न ती युवकले ‘पीब्वाइकेटोएटजीमेलडटकम’ इमेल अकाउन्ट नेपालबाटै खोलेको भेटियो । रुचालले पोर्नहवमा ‘पीब्वाइकेटोएटजीमेलडटकम’ मार्फत भिडियो अपलोड गरेका थिए । ‘नेपाल बसकाण्ड’ उल्लेख गरिएको तस्बिर महाशाखाको आग्रहमा पोर्नहवले हटाइसकेको छ ।

खोजीका क्रममा रुचालसँगै कनेक्सन भएका अर्का एक अपरिचितले प्रहरीलाई म्यासेज पठाएका थिए । सुरुमा प्रहरीले त्यो म्यासेजलाई खासै ध्यान दिएन । त्यसबेला महाशाखामा एसएसपी धीरजप्रताप सिंह थिए । पछि महाशाखा प्रमुख भएर गएका एसएसपी सहकुल थापाले पुरानो फाइल खोल्न लगाए । त्यसक्रममा अनुसन्धानबाट खुलेका प्रमाण, पछिल्लो पटक बटुलिएका विवरण र ती अपरिचितले महाशाखालाई पठाएको म्यासेजमा केही मेल देखियो । म्यासेजकै आधारमा प्रहरीले ‘रविन रुचाल’का नाममा खोलिएका चारवटा फेसबुक अकाउन्ट फेला पार्‍यो । रुचालले खोलेका फेसबुकमा अपलोड गरिएका र बसमा वीर्य स्खलन काण्डको भिडियोमा मेल खायो । अनुसन्धानले पूर्णता नपाएसम्म यसबारे केही पनि नबोल्न र कतै पनि सुइँकोसम्म नदिन थापाले अनुसन्धान अधिकृतहरूलाई सचेत गराएका थिए ।

रुचालको खास नाम रविन सार्की हो । तनहुँको साविक अरुणोदय गाविस–१ घर भए पनि उनी चितवन महानगरपालिका (विकासचोक) मा बस्दै आएका थिए । कामका सिलसिलामा ३ वर्षयता काठमाडौंमा रिक्सा चलाउँथे । केही तथ्य बटुलिसकेपछि प्रहरीको विशेष टोली मानवीय र प्राविधिक पक्षसहित अनुसन्धानको अर्को पाटो खोज्नतिर लाग्यो, जसले बसमा वीर्य स्खलन गर्ने रुचालको पहिचान गर्न सहज होस् । पोर्नहवले उपलब्ध गराएको इमेल ठेगाना खोज्ने क्रममा भिडियो अपलोड गर्न एनसेलको सिमकार्डमार्फत इन्टरनेट प्रयोग गरिएको देखियो । सिमकार्डबारे महाशाखाले एनसेललाई पत्र लेख्यो । अनि उनको स्थायी ठेगाना तनहुँ र हाल चितवनमा रहेको खुल्यो । आफ्नो हर्कत सामाजिक सञ्जालमा फैलिएपछि काठमाडौंको बानेश्वरमा डेरा गरी बस्दै आएका उनी दिल्ली भागेका थिए । दिल्लीस्थित एक मःम फ्याक्ट्रीमा ३ महिना काम गरेपछि कश्मीर पुगे । चार महिना त्यहीं बसे । एसएसपी थापाका अनुसार डरले रुचाल काठमाडौंबाट चितवन हुँदै दिल्ली पुगेका थिए । भारतमा ७ महिना बसेर केही साताअघि मात्र चितवन आएका उनलाई पक्राउ गरी प्रहरीले सोमबार काठमाडौं ल्याएको हो । उनलाई मंगलबार एसएसपी थापाले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन् । उनी महाशाखाकै नियन्त्रणमा छन् ।

यकिन गर्न डेमो

पक्राउ गरे पनि भिडियो खिच्ने र अपलोड गर्ने व्यक्ति एउटै हुन् कि होइनन् भन्ने स्पष्ट हुन् सोमबार रुचाललाई अनुसन्धान अधिकृतकै सामुन्ने ‘हस्तमैथुन डेमो’ गर्न लगाइयो । हस्तमैथुन गर्दा उनको हुलिया र बसको भिडियोमा तालमेल मिल्यो । बसमा वीर्य स्खलन गर्ने व्यक्तिको दायाँ हातको बूढी औंलामा खत र चोरी औंलाको टुप्पोमा भएको खत पनि मेल खायो । दुवै प्रमाणमा एउटै व्यक्तिको हुलिया मिलेपछि प्रहरी नियन्त्रणमा रहेका रुचाल हतोत्साहित भए तर सुरुमा उनले अभियोग स्वीकार गरेनन् । भिडियो अपलोड गर्न खोलेको इमेल ठेगाना, एनसेलको सिमकार्ड, उनका ४ वटा फेसबुक अकाउन्ट र उनले सम्पर्क गर्ने व्यक्तिका विवरणलगायत प्रमाणबारे प्रहरीले प्रस्ट पारेपछि भने उनले अभियोग स्वीकार गरेका छन् ।

कामको खोजीमा तीन वर्षअघि काठमाडौं आएका रुचालले रिक्सा चलाउन थाले । ११ कक्षा उत्तीर्ण उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहन्थे । त्यही क्रममा ‘हर्ट इस्यु’ सामाजिक सञ्जालमा पोस्ट गरेमा पैसा कमाउन सकिने भन्दै गलत धन्दामा लागे । ‘फेसबुक पेज खोलेर १५ हजारसम्म लाइक पुर्‍याउने र त्यो अर्कैलाई बिक्री गर्ने’ योजनाअनुसार रुचालले बसमा अश्लील भिडियो खिचेको पनि खुलेको छ,’ एसएसपी थापाले कान्तिपुरसँग भने, ‘वुमन्स वारियर नामको फेसबुक पेज त्यसैका लागि खोलिएको रहेछ ।’ यस्ता अश्लील र सामाजिक रूपमा वर्जित गतिविधि गर्ने गिरोह नै सक्रिय रहेको उल्लेख गर्दै थापाले भने, ‘उनीहरूको पनि खोजी जारी छ ।’

अश्लील भिडियो खिच्ने, सामाजिक सञ्जाल र वेबसाइटमा अपलोड गर्ने व्यक्ति रुचाल नै भएको दाबी प्रहरीको छ । तर काठमाडौं जिल्ला अदालतमा रुचालले भिडियो अपलोड गरेको तर वीर्य स्खलन गर्ने व्यक्ति आफू नभएको बयान दिएका छन् । अनुसन्धानका लागि म्याद थप्न उनलाई मंगलबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो । सुरुमै न्यायाधीशले ‘तपाईंले बसमा वीर्य स्खलन गरेको हो ?’ भनेर सोधेका थिए । जवाफमा रुचालले भने, ‘भिडियो मैले खिचेको होइन, अपलोडचाहिँ गरेको हुँ ।’ त्यसपछि सामान्य सोधपुछ गर्दै न्यायाधीशले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका थिए । एसएसपी थापाका अनुसार रुचालविरुद्ध साइबर अपराध गरेको कसुरमा अनुसन्धान भइरहेको छ । अपराध पुष्टि भए रुचालविरुद्ध १ लाखसम्म जरिवाना र ५ वर्ष कैद हुन सक्छ ।

भिडियोका अनुसार बसमा सवार युवतीमाथि वीर्य स्खलन गर्ने युवक डल्लुबाट (स्वयम्भू) बाट बा२ख ९३२६ नम्बरको मिनिबसमा लगनखेल आउँदै थिए । उनी पछाडिपट्टिको सिटमा थिए । त्यही बेला सरकारी कर्मचारीको पोसाक लगाएकी एक युवती/महिला बसमा चढिइन् । त्यसभन्दा अघि नै अर्की युवती युवकभन्दा अगाडिपट्टिको सिटमा आएर बसेको देखिन्छ । पछाडिबाट युवकले हस्तमैथुन गरी अगाडि बसेकी युवतीको कपालमा पुग्ने गरी वीर्य स्खलन गर्छन् । त्यसबारे युवती जानकार नभएको देखिन्छ । तर पछि थाहा पाएर पनि बेइज्जत हुने त्रासले युवतीले यसबारे बाहिर नभनेको अनुसन्धान अधिकृतले बताए । ज्याकेट र खैरो ट्राउजर अनि चप्पल लगाएका ती युवक (रुचाल) ले भिडियो खिचेर अपलोड गरेको प्रहरीको दाबी छ ।

अपराध अनुसन्धान विज्ञ तथा नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल सार्वजनिक बसमा भएको वीर्य स्खलनलाई मानसिक रोग र विचलनका रूपमा अर्थ्याउँछन् । ‘अश्लील भिडियो खिच्ने वा सर्वजनिक रूपमै यस्ता हर्कत गर्नेहरू मानसिक रोगी हुन्, प्रहरीले पक्राउ गरेका रुचाल त्यसैको प्रतिनिधिपात्र मात्र हुन्,’ उनले भने, ‘विवेक भएका मानिस पनि विपरीत लिंगप्रति त आकर्षक हुन्छन् तर त्यसलाई भित्रभित्रै नियन्त्रण गर्ने खुबी उनीहरूमा हुन्छ ।’ मानसिक रोगी र मनलाई नियन्त्रणमा राख्न नसक्ने पुरुषले सार्वजनिक बसमा यात्रा गर्दा महिलासँग टाँसिएर बस्ने, एकोहोरो हेर्ने र मौका पाउनेबित्तिक्कै अश्लील हर्कत देखाउने गरेको उनले बताए । ईकान्तिपुरबाट