भारतीय पर्यटक मृत्युको कारण हिटर

everest kitchen

काठमाडौँ : भारतको केरलाबाट नेपाल घुम्न आएका ८ जना पर्यटकले मंगलबार मकवानपुरमा ज्यान गुमाए। मकवानपुरको दामनस्थित होटल एभरेष्ट पानोरमामा उनीहरुले अकालमा ज्यान गुमाएका हुन्।

चिसो मौसममा होटलको कोठाका झ्याल ढोका बन्द गरी हिटर बालेर सुतेका उनीहरुको अक्सिजन अभावमा ज्यान गएको हो। अचेत अवस्थामा होटलमा फेला परेका उनीहरुलाई काठमाडौंको ह्याम्स अस्पतालमा ल्याएपछि चिकित्सकहरुले सबैलाई मृत घोषित गरिदिए।

भारतबाट नेपाल भ्रमणमा आएका दुई परिवारका ८ सदस्यको अस्पतालमा ल्याउनुअघि नै मृत्यु भइसकेको जानकारी ह्याम्सका इमरजेन्सी विभाग प्रमुख डा. कमल थापाले बताए।

‘बिरामी भएको भन्‍ने खबर पाउनासाथ उहाँहरुलाई ल्याएका हौँ’, उनले भने, ‘अस्पतालको हेलिप्याडमा ल्याएर जाँच गर्दा ८ जनाकै मृत्यु भइसकेको रहेछ।’

प्रहरीका अनुसार उनीहरुले होटेलमा ग्यासबाट चल्ने हिटर बालेर सुतेका थिए। बिहान ७ बजे कोठामा गएर हेर्दा उनीहरुको मृत्यु भइसकेको थियो।

चिसो ठाउँमा उनीहरुले हिटर आफैंले ल्याएका थिए। मदिरा पिएपछि हिटर बालेर सुतेकाले उनीहरुको मृत्यु भएको आशंका प्रहरीले गरेको छ। दामन चिसो स्थानमा भएकाले भारतीय ती पर्यटक हिटर बालेर सुतेका थिए।

सोमबार बेलुका करिब ९ बजेको समयमा १५ जनाको भारतीय टोली दामनस्थित उक्त होटलमा पुगेका थियो। उनीहरुले होटलमा ४ वटा रुम लिएका थिए।

‘तर, पारिवारिक भ्रमण भएको भन्दै उनीहरु दुईवटा रुममा सुतेका रहेछन्, धेरै चिसो नभए पनि उनीहरुले हिटर बालेर सुतेका रहेछन्’, महानगरीय प्रहरी बृत्त महाराजगञ्जका डिएसपी उमेश लम्सालले भने, ‘उनीहरुको त्यही कारणले मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’

‘झ्याल ढोका सबै बन्द गरेर ग्यासको हिटर बालेर सुतेको अनुसन्धानबाट देखिन्छ’, उनले थपे, ‘उनीहरुको अक्सिजनको कमीको कारणले मृत्यु भएको हुनसक्छ।’

चिसोबाट बच्न हिटर बालेकै कारण उनीहरुको मृत्यु भएको ह्याम्स अस्पतालका डाक्टर थापा बताउँछन्। ‘झ्याल ढोका बन्द गरेर सुत्दा अक्सिजनको कमी भयो। त्यहाँ कार्बनडाईअक्साइड धेरै भयो’ डाक्टर थापाले भने, ‘धेरै मान्छे एउटै कोठामा सुतेका कारण उनीहरुको ज्यान गएको देखिन्छ।’

मृत्यु हुनेमा भारतको केरलाका ३८ वर्षीय रञ्जित कप, ३४ वर्षीय इन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीया सरिया, ५ वर्षीय बालक अभी, ७ वर्षीया बालिका अर्चना, ५ वर्षीया बैशनव र ९ वर्षीया बन्द्रा रहेका छन्। उनीहरु दुई परिवारका हुन्। दुई परिवारका बावु आमा र तिनका एक-एक छोरी रहेको प्रहरीले जनाएको छ।

उनीहरु बा.३ क ३७८८ नम्बरको गाडीमा दामन पुगेको बुझिएको छ। दुईजना बस्नुपर्ने कोठामा धेरैजना बसेको कारण अक्सिजन अभावमा उनीहरुको ज्यान गएको आशंका गरिएको छ। ह्याम्सका चिकित्सकहरुले उनीहरुको श्‍वासप्रश्‍वास बन्द भएर ज्यान गएको जनाएका छन्।

ह्याम्स अस्पतालबाट आठैजनाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ। पोष्टमाटम रिपोर्टपछि मात्रै उनीहरुको मृत्युको कारण अझ स्पष्ट हुने प्रहरीले जनाएको छ।

मुख्यमन्त्रीले मागे सहयोग

निसास्सिएर ज्यान गुमाएका आफ्ना नागरिकका परिवारलाई सहयोगका लागि भारतको केरला राज्यका मुख्यमन्त्रीले केन्द्र सरकारसँग आग्रह गरेका छन्।

उनले भारतीय विदेशमन्त्री एस जयशंकरलाई पत्र लेखेर नेपालमा ज्यान गुमाएका आफ्ना नागरिकका परिवारका लागि सहयोग प्रदान गर्न आवश्यक हस्तक्षेप गरिदिन भनेका हुन्।

भारतीय अनलाइन टाइम्स अफ इन्डियाका अनुसार मृतक सबै ८ नागरिकको शव काठमाडौं हुँदै भारत झिकाइँदैछ। काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा आवश्यक परीक्षणपछि भारतीय दूतावासमार्फत परिवारलाई शव बुझाइने भएकोछ। रमेश पराजुली/थाहाखबर