कुखुराका चल्ला र अण्डा नष्ट गरेर मासुको मूल्य बढाउनेलाई कारवाही

everest kitchen


काठमाडौं । सरकारले कुखुराका चल्ला र अण्डा नष्ट गरेर मासुको मूल्य बढाउनेहरुलाई बल्ल कारवाही गर्न तयारी थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले सिन्डिकेट गरेर कुखुराको मूल्य दोब्बर बनाउन नेतृत्व गर्नेहरुलाई कारवाही गर्ने भएको हो ।

त्यसपछि अभियानमा सहयोग गर्ने सबैलाई कारवाहीको दायरामा ल्याउने दावी सरकारको छ । उपभोक्ताहित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले उपभोक्तालाई महंगीमा पार्न गलत अभियान चलाउनेहरुबारे सबै तथ्यांक र विवरण संकलन गरिएको र सम्भवत : शुक्रबार नै टोली फिल्डमा जाने बताए । याे खबर अनलाइन खबरले प्रकाशन  गरेकाे छ ।

‘फिल्डमा गएर उनीहरुलाई कारवाहीको प्रक्रिया अघि बढाउँछौं,’ उनले भने,’यसका लागि पशुसेवा विभाग र हाम्रो टोली संयुक्त रुपमा खटिँदैछ ।’

उनले चल्ला मार्ने अभियान चलाउन सार्वजनिक रुपमा सूचना र विज्ञप्ति निकालेर आह्वान गर्नेहरु सबैभन्दा पहिले सजायको भागिदार हुने सुवेदी बताए ।

अत्याधिक चल्ला उत्पादनले उचित मूल्य नपाएको भन्दै नेपाल ह्याचरी संघले गत मंसिर महिनामा ६० लाख निशेचित अण्डा नष्ट गरेको थियो । त्यसपछि लगातार मूल्य बढेर काठमाडौंमा कुखुराको मासुको मूल्य प्रतिकिलो ४४० रुपैयाँसम्म पुगेको छ । आजभन्दा ५० दिन अघि प्रतिकिलो कुखुराको मासुको २४० रुपैयाँ हाराहारीमा मात्र थियो ।

बुधबार सरकारले कारवाहीको चेतवनी दिएपछि बिहीबार कुखुराको मासुको मूल्य किलोमा २० रुपैयाँ घटाउने व्यवसायीले बताएका थिए । तर, बिहीबार बजारमा त्यस्तो सहमति अनुसार मासुको मूल्य घटेन ।