अर्थमन्त्री डा. युवराज खतिवडाकाे राजिनामा , १९ जना राष्ट्रियसभा सदस्य बाहिरिए

everest kitchen

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्। मंगलबारै राष्ट्रियसभाको दुई वर्षे कार्यकाल सकिएपछि खतिवडाले मुख्य सचिव लोकदर्शन रेग्मीमार्फत मन्त्री पदबाट राजीनामा दिएका हुन्।

मंगलबार राजीनामा दिएका खतिवडाले बुधबार पुन: मन्त्री पदको कार्यभार सम्हाल्ने छन्। उनले बुधबार अर्थ र सञ्‍चार मन्त्रीको नियुक्ति लिएर सपथग्रहण गर्ने बताइएको छ।

त्यस्तै राष्ट्रियसभाका एक तिहाई सदस्यको कार्यकाल आज सकिँदैछ।  गोलाप्रथाबाट दुई वर्षे कार्यकाल परेका सदस्यहरु आज अन्तिम बैठकमा सहभागी भएका छन्। विभिन्न कोटा र कलस्टरबाट निर्वाचित तथा मनोनित सांसदहरुमध्ये १९ जनाको कार्यकाल सकिएकाे हो।

आज कार्यकाल सकिनेमा महिलातर्फ सरिता प्रसाईं, मीनाकुमारी यादव, धनकुमारी खतिवडा, बिन्दा आले, मीना बुढा, युटोल तामाङ र कमला ओली रहेका छन्।  त्यस्तै प्रदेश १ का हरिचरण शिवाकोटी, प्रदेश २ का रमेशप्रसाद यादव, बागमती प्रदेशका बलराम बाँस्कोटा, गण्डकी प्रदेशका सुरेन्द्रराज पाण्डे, प्रदेश ५ का दुर्गादत्त उपाध्याय, कर्णाली प्रदेशका कालीबहादुर मल्ल र सूदुरपश्चिम प्रदेशका बद्रीप्रसाद पाण्डेको कार्यकाल सकिएकाे छ।

यसैगरी दलित कोटाबाट निर्वाचित खेमराज नेपाली र रामपृत पासवान तथा अपांगता कोटाबाट निर्वाचित राजकुमार कुँवर र बृषेशचन्द्र लालको कार्यकाल तथा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित युवराज खतिवडाको कार्यकाल पनि आज सकिएकाे छ।

कार्यकाल सकिनेमध्ये सत्तारुढ नेकपाका ८, कांग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका एक सांसद छन्। त्यस्तै राष्ट्रपतिबाट मनोनित एक सांसद बाहिरिनेछन्। रिक्त हुने १९ सदस्यको ठाउँमा भोलि नयाँ सदस्यहरुको सपथ हुनेछ।  गत माघ ९ गते भएको निर्वाचनबाट आएका १८ जना र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने एक जनाले बुधबार बिहान ११ बजे सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।  सपथ लिने नयाँ सांसदमा सत्तारुढ नेकपाका १६ जना र राजपाका २ जना रहेका छन । एकजना सरकारको सिफारिसबाट राष्ट्रपतिबाट मनोनित व्यक्ति हुनेछन्।