राहतको नाममा फाेटाे भिडियो खिच्न नपाईने

everest kitchen


स्याङ्जा । वालिङ नगरपालिकाले राहत तथा व्यवस्थापन कार्यविधि लागू गर्दै राहतको नाममा फाेटाे भिडियो नखिच्ने निर्णय गरेकाे छ । नगर कार्यपालिका, सर्वदलीय र सर्वपक्षीय बैठकले ‘कोभिड–१९ (कोरोनाभाइरस) राहत वितरण तथा व्यवस्थापन कार्यविधि–२०७६’ निर्माण गरी यस्तो व्यवस्था लागु गरेकाे हो ।

नवनिर्मित कार्यबिधिमा राहत तथा व्यवस्थापन कार्यक्रमको कुनै पनि फोटो खिच्ने÷खिचाउने जस्ता कार्य गर्न नपाइने उल्लेख गरिएको छ ।  समाचार तथा सामाजिक सञ्जालमा प्रचार–प्रसारले मानिसको मौलिक अधिकारमाथि ठाडो हस्तक्षेत रोक्नका लागि फोटो नखिच्ने निर्णय गरिएकाे नगरपालिका प्रमुख दिलीपप्रताप खाँणले बताए । उनका अनुसार राहत वितरण प्रक्रियालाई प्रभावकारी, विश्वासनीय तथा भीडभाडरहित बनाउँदै एकद्वार प्रणालीबाट राहत वितरण तथा व्यवस्थापन कार्यविधि मार्गदर्शक हुने बताए ।

वडामा रहेका गरिब, विपन्न परिवार र दैनिक ज्यालादारी गरेर बिहान–बेलुका छाक टार्ने परिवार र व्यक्तिहरुको तथ्यांक संकलन गरी वडा कार्यालयले सिफारिस गर्ने र नगरपालिकाले दैनिक खाद्य सामग्री सहितको एकमुष्ठ प्याकेजको कुपन वडालाई उपलब्ध गराउनेछ । उक्त कुपनबाट सम्बन्धित व्यक्ति ,परिवारले पायक पर्ने पसलबाट सामाग्री लिन पाउनेछन ।

अहिलेसम्म वालिङ नगरपालिकाको कोभिड–१९ राहत कोषमा १६ लाख जम्मा भएकाे र अन्य ईच्छुक सहयोगीले नेपाल बैंक लिमिटेड वालिङको खाता नं. ०८३००१०६८३३२६७०००००१ मा सहयोग जम्मा गर्न नगरपालिकाले अनुराेध गरेको छ ।