लकडाउनमा दिर्घ राेगिलाइ गाउँपालिकाकाे नि:शुल्क औषधि

everest kitchen


काठमाडौं । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले लकडाउन जारी रहदा पनि ३०८ बिरामीलाई घरैमा लगेर निःशुल्क औषधि वितरण गरेको छ ।  नियमित औषधि खानुपर्ने दीर्घरोग भएका ती बिरामीलार्ई सो गाउँपालिकाले आवश्यक औषधिको व्यवस्था गरी निःशुल्क वितरण गरेको हो ।

उच्च रक्तचाप, मधुमेह, बाथ, मुटुरोग, ग्याँस्ट्रिक, अल्सर, पिसाब पोल्नेलगायतका समस्या भएका र नियमित औषधि सेवन गरिरहेका बिरामीलाई निःशुल्क वितरण गरेको गाउँपालिका प्रमुख भूपेन्द्र राईले जानकारी दिए। “अहिले हाम्रो ध्यान कोरोना भाइरसको जोखिम हुन नदिन मात्रै केन्द्रित छ”, उनले भने, “तर यो बेला रोगसँग जुधिरहेका बिरामीलाई बिर्सनुहुन्न । औषधि लिन जान नपाएर अप्ठ्यारामा परेका बिरामीलाई तत्काललाई १५ दिनसम्म पुग्ने औषधि ल्याएर निःशुल्क वितरण गरेका हौँ ।”

स्थानीय स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयंसेविकामार्फत सिफारिस भएर आएको बिरामीको नाम, औषधिको नाम र मात्राका आधारमा बिरामीलाई १५ दिन पुग्ने औषधि वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

लकडाउनका कारण औषधि लिन जान नपाउँदा अधिकांश बिरामीको औषधि सकिएर समस्यामा परेका थिए ।

पहिलो चरणमा रु एक लाख ५० हजारमा खरिद गरेर ल्याइएको औषधि सम्बन्धित वडामा कार्यरत स्वास्थ्यकर्मीमार्फत यही वैशााख १२ गतेदेखि घर–घरमा पुगेर वितरण गर्न थालिएको गाउँपालिकाले जनाएको छ ।
नियमित औषधि सेवन गरिरहेका वडा नं १ याम्खाका ८०, वडा नं २ डाँडागाउँका ३३, वडा नं ३ छोरम्बुका ११, वडा नं ४ बतासेका ६७, वडा नं ५ सछितापोखरीका ३७, वडा नं ६ छितापोखरीमा २५ र वडा नं ७ टेम्माका ५५ जना बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइएको गाउँपालिका प्रमुख राईले बताए।

गाउँपालिकाले आफ्नो घरैमा निःशुल्क औषधि उपलब्ध गराएपछि नियमित औषधि सेवन गर्दै आएका बिरामीसमेत हर्षित भएका छन् । रुघाखोकी, झाडापखाला, ज्वरोलगायतका मौसमी रोग फैलिने खतरा पनि उत्तिकै भएको भन्दै स्वास्थ्य संस्थालाई रु पाँच लाख बराबरको जगेडा औषधिसमेत खरिद गरेर प्रदान गरेको छ ।

कतिपय बिरामीले आफन्त तथा स्वास्थ्यकर्मीमार्फत झिकाएर सेवन गरिरहेका छन् । दश स्थानीय तह रहेको जिल्लामा सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको औषधिसमेत अभाव हुने अवस्थामा पुगेको जनाइएको छ । जिल्लाका हरेक स्थानीय तहले औषधि खरिदका लागि बजेट विनियोजन गरे पनि लकडाउनका कारण ढुवानी गर्न नपाउँदा अभाव हुने अवस्था आएको हो ।

एउटा मात्र सरकारी अस्पताल रहेको जिल्लामा सङ्घ तथा प्रदेश सरकारबाट नियमित आउने औषधि अहिलेसम्म एकपटक पनि नआएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए। स्वास्थ्य मन्त्रालयले निःशुल्क उपलब्ध गराउने ७० किसिमको औषधि जिल्ला स्वास्थ्य कार्यालयमार्फत जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्थानीय तहलाई वितरण गरिँदै आइएको छ । रासस