लघुकथा: फरक

everest kitchen
अवतार ढकाल

लघुकथा: फरक
अवतार ढकाल

` बाबा ! मान्छे ठूलो भएपछि लाज हराउँछ हो ?´
कथाको मेलोमेसो नपाएर घोत्लिरहेको कथाकारलाई दस वर्षको छोराले सोध्यो।छोराको प्रश्नको पनि मेलोमेसो नपाएर उनले उसको अनुहार पढन खोज्दै सोधे :
`किन र बाबु ?´
` हाम्री बुनेलाई लुगा नलगाको बेलामा कुरी कुरी भन्यो भनें कस्तो लाज मानेर दौडन्छे तर ठूलाहरू त ……….।´
` अनि के भयो त ?´ बोल्दा बोल्दै रोकिएको छोरालाई उनले सोधे ।
` अघि पल्लो घरकी दिदीलाई छोटो लुगा लगाको देखेर कुरीकुरी भनेको त झण्डै मारिनन् । ननसेन्स फुच्चे भन्दै थर्काइन् । अस्ति एउटा दाइको प्यान्ट कम्मर मुनि पुगेको देखेर सम्झाको त झण्डै पिटेनन् ।´ उसले घटना बतायो ।
कथाकारले छोरोको अनुहारतिर एकछिन गहिरिएर हेरे अनि बिस्तारै भने ` होबाबु ,बच्चाहरू नाङ्गो हुँदा लजाउँछन् तर ठूलाहरू आफ्नो नग्नताको प्रशंसा खोज्छन् । उनीहरू कुरी कुरी होइन … सुन्दर , क्युट, सेक्सी, ह्यान्सम भनेको रुचाउँछन् ।´