भक्तपुरमा अत्यावश्यक बाहेक घर बाहिर निस्कन राेक

everest kitchen
photo :file

भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि घरबाट बाहिर निस्कन निषेध गरिएकाे छ । सुनसरीबाट आएकी महिला र रामेछापबाट आएका पुरुष गरी दुईजनामा कोभिड १९ सङ्क्रमण देखिएपछि जिल्ला स्तरबाटै यस्तो निर्णय भएकाे हाे ।

बुधवार प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको संयोजकत्वमा बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले शुक्रबारदेखि अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन नदिने गरी कडाइ गर्ने निर्णय गरेकाे हाे ।
साथै यसअघि जारी गरिएका सबै सवारी पास खारेज गरिएको बताएको छ ।

त्यस्तै बैठकले अत्यावश्यक वस्तु उत्पादन बाहेक , व्यापार, व्यवसाय, उद्योग कलकारखाना सञ्चालनमा रोक लगाउने निर्णय गरेकाे छ ।

विपन्न तथा दैनिक ज्यालादारी गरिबहरुलाइ खाद्यान्न राहत उपलब्ध गराउने वडा स्तरबाट तयारी थालिने बताएको छ । यसअघि सम्पूर्ण वडाले राहत उपलब्ध गराएपनि विपन्न तथा गरिबलाई पुनः अवस्था हेरेर राहत उपलब्ध गराउने तयारी थालिएको जनाएको छ ।

भक्तपुरको मध्यपुर थिमि स्थित शंखधर चाेक र दुवाकाेटमा १/१ जना गरि दुईजना युवती र पुरुषमा काेराेना लेखिएकाे छ ।

भक्तपुरमा यतिबेला नेपाल प्रहरी , स्थानीय निकायका प्रतिनिधि लगायतले माईकिङ गर्दै घर बाहिर ननिस्कन अनुरोध गरिरहेका छन ।