गुरुदत्त को डायरी : मदन पौडेल

everest kitchen
मदन पौडेल

लघुकथा: गुरुदत्त को डायरी
मदन पौडेल

गुरुदत्त पिंढी को गुन्द्री मा बसेर निकै चिन्तित हुँदै आफ्नो पुरानो डायरी का पाना पल्टाउँदै थिए र क्याल्कुलेटर मा हिसाब किताब जोड्दै थिए । धेरै पुरानो पनि होईन , मात्र ४ वर्ष अगाडीको छोरा को बिहे को ।
गरगहना ४ लाख,
भोज भतेर का लागि क्याटरिङ लाई ५ लाख
बाजा बजाउने लाई ३0 हजार
बस र कार को लागि ४0 हजार
दान दक्षिणा १लाख
छोरा र आफ्नो सुट ३0 हजार
विविध १ लाख
जम्मा जम्मी १२ -१३ लाख को हिसाब थियो ।

गाउँ कै सरकारी स्कूल का शिक्षक त्यो पनि नेपाली विषय का अन्य आय स्रोत थिएन । छोरा को बिहे का निम्ति आफ्नो वर्षौं को वचत बाट पनि नपुगेर उनले गाउँ कै छर छिमेक सँग ऋण लिएको टिपोट पनि थियो ।

धर्मराज सँग २ लाख
नरहरी सँग १ लाख
कृष्ण गोपाल सँग ५0 हजार
तल्ला घरे लाटा दाई सँग ७५ हजार
संचयकोष ३ लाख
जम्मा ७ लाख २५ हजार देखियो ।अरु सबै आफ्नै बचत बाट खर्च भएछ ।

उनलाई हिजो को जिल्ला अदालत मा भएको छोरा बुहारी को पारपाचुके को घटना ले भन्दा पनि आफ्नो डायरी मा लेखिएको हिसाव किताब ले पोल्न थालेको छ । सहानुभूति दिन धर्मराज र नरहरी उनको घर तिर आउँदै छन् तर उनका आँखा डायरी का पाना बाट हट्न सकेका छैनन् ।

११-०४-२०१७
लण्डन