लकडाउनको मौका छोपी सुन पसल चोरी गर्ने तीन जना सुनसहित पक्राउ

everest kitchen

काठमाडौं। काठमाडौं महानगरपालिका सरकारीधारास्थित नोर सुन चाँदी पसलबाट करिब २ लाख २३ हजार ७ सय २० रुपैयाँ बराबरको सुन तथा चाँदीका बिभिन्न गरगहना चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं गोंगबु बस्ने कास्की पोखरा महानगरपालिका-१० अमरसिंङ चोक ठेगाना भएका मिलन तामाङ, काठमाडौं ठमेल बस्नेहरु नुवकोट तार्केश्वर गाउँपालिका-४ ठेगाना भएका ३१ वर्षीय प्रेम तामाङ र भारत मोतिहारीका २५ वर्षीय ऋषिमुनि कुमार रहेका छन् ।
लकडाउनको मौका छोपी रातको समयमा हुने चोरीको घटनाहरुको अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उक्त पसलमा गत बैशाख ६ गते रातिको समयमा चोरी भएको घटनामा संलग्न उनीहरुलाई चोरी गरी लगेका विभिन्न धनमाल सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट सुनको मंगल सुत्र १ थान, सुनको चन्द्रमा हार १ थान, चाँदीको पाउजु २५ थान, चाँदीको कि-रिङ २ थान, चाँदीको दियो १ थान, बच्चाले लगाउने चाँदीको कल्ली ७ थान, चाँदीको औठी ३ थान, चाँदीको जन्तर २ थान, चाँदीको प्लेट ३ थान, चाँदीको बेरुवा बाला १ थान, चाँदीको ब्रासलेट १ थान, चाँदीको सिक्री १ थान र चाँदीका लकेट १३ थान प्रहरीले बरामद गरेको हाे ।

उनीहरुमध्ये मिलन तामाङ चोरी कार्यमा संलग्न तथा प्रेम तामाङ र ऋषिमुनि कुमार चोरीको सामान खरिद गर्ने कार्यमा संलग्न रहेको खुल्न आएको र उनीहरुलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त लैनचौर पठाइएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।