विदेशबाट आउनेलाई ९ स्थानमा होल्डिङ सेन्टर र ४ स्थानमा कोरोना डेडिकेटेड क्वारेन्टाइन

everest kitchen
भक्तपुरमा तयार भएको होल्डिङ सेन्टर

काठमाडौ । सरकारले विदेशबाट ल्याइने नेपालीलाई व्यवस्थापन गर्न उपत्यकाभित्र ९ स्थानमा होल्डिङ सेन्टर र ४ स्थानमा कोरोना डेडिकेटेड क्वारेन्टाइन तयार पारेको छ ।

विदेशबाट उद्दार गरेका प्रदेश १ र २ का नागरिकलाई राख्न भक्तपुरका दुई ठाउँमा होल्डिङ सेन्टर तोकिएको छ ।

वाग्मती, गण्डकी र प्रदेश ५ नागरिकलाई राख्न काठमाडौंका बिभिन्न स्थान ताेकेकाे छ ।

त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई ललितपुरमा राखिने भएको हो । होल्डिङ सेन्टर निगरानी काठमाडौ , ललितपुर र भक्तपुरका प्रशासनले नेपाली सेनाको सुरक्षा व्यवस्थापनमा  सम्बन्धित स्थानीय तहसम्म पठाउने व्यवस्था मिलाउनेछन् ।

यस्तै सरकारले १ हजार ७ सय मानिस बस्न मिल्ने गरी ४ वटा सार्वजनिक तथा निजी संरचनालाई कोरोना डेडिकेटेड क्वारेन्टाइन बनाइएको छ ।

होटलमा बस्न चाहाने नागरिकले होटलमा शुल्क तिरेर बस्न पाउने बताएपनि  कुन होटलमा व्यवस्था छ भनेर सरकारले तोकेको भने छैन । यो बिषयमा अब लगत्तै होटल तोकिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

सरकारले शुक्रबारदेखि विदेशमा अलपत्र परेका नागरिकलाई द‌ैनिक चार्टर्ड उडान मार्फत नेपाल ल्याउने तयारी थालेको हो  । करिब दैनिक दश उडानमा २५ सय जति नेपाल आउन पाउनेछन् ।