लघुकथा : नेताको भाषण र पण्डितको शान

everest kitchen
बाबुराम न्यौपाने “उत्स”

लघुकथा : नेताको भाषण र पण्डितको शान

बाबुराम न्यौपाने “उत्स”

———————
क्रान्तिको रन्को सेलाउँदै गए पनि नेता हरिबहादुरको चुरीफुरी हेर्नलाएक थियो।उनलाई संघ,संस्थाको निम्तोमा जान, पार्टीको काममा र सभासम्मेलनमा भाषण गर्न भ्याइनभ्याइ हुन्थ्यो।

उता पण्डित रामहरिको पुराणवाचनको नयाँशैली र परिवर्तनशील विचारको प्रभाहले सर्वसाधारणमा विषेश शान बढ्दै गएको थियो।
दुबै एकैशहरका बासिन्दा थिए।बेलाबेलाको भेटमा, समाज रुपान्तरणका चर्काचर्का बहस गर्थे।जातभातको विरोध र वर्ग समानताका कुरा गरेर थाक्तैनथे।
यतिकैमा एकदिन शहरमा हल्ला फैलियो।
“पण्डित रामहरिकी स्नातकोत्तर पढ्दै गरेकी छोरी सुजाता, नगरपालिकाको ईन्जिनियर बीर्ख बि.क.सँग पोइल हिँडी रे।”
रामहरिको आेठमुख सुक्यो !!
उनी एकहप्ता जति घरमै झोक्राएर बसे।आसनमा बसेर पुराण वाचन गर्ने हिम्मत जुटाउन सकेनन् ।उनको नयाँ परिवर्तनकारी सोच पानीको फोका झै उनकै काखमा फुट्यो।

संयोग पनि कस्तो आश्चर्यजनक !!
यस्तै परिवेश बीच। सुकेको खरमा लागेको डढेलो झै अर्को हल्ला शहरभरि फैलियो।
“आजका प्रखर क्रान्तिकारी युवा नेता हरिबहादुर तामाङको छोरा सोमबहादुरले अदालतमा गएर गाउँबाट शहर पढ्न बसेकी रामे चमारकी छोरी फुलमायासँग कोटम्यारीज गर्यो अरे।”
यी दुबै घटनाले शहरको प्रगतिशील भनिएको समाजमा समेत जोडदार तरङ्ग ल्याएको थियो।

भीडमा खासखुश सुनिन्थ्यो ;
“छुवाछूत ,विभेद र विसंगतिका जरा हल्लिएका त छन् तर उखेलिएका छैनन् ।”
शहरका गल्ली र चोकचोकमा हिजो जस्तै नेताहरू नारा घन्काउँदै थिए……
छुवाछूत विभेद —– मेट्छौं मेट्छौं
सामाजिक समानता — ल्याउँछौं ल्याउँछौं।
मान्छे मान्छे —- समान छौं
हिंसा गर्नु —– अपराध हो
…………. ……….. ।
छेउ मै ; कोही कोही त किन हो ?
हातको बूढीऔँला उठाएर ; आेठ लेप्र्याउँदै पनि थिए……।

स्थानीय मात्र नभएर राष्ट्रिय स्तरकै पत्रपत्रिकाका “हेडलाईन समाचार” बनेर आएका थिए। यी दुबै ज्वलन्त घटना।चोकचोक र गल्ली गल्लीमा चर्चा परिचर्चा चुलिएको थियो।
“परिवर्तनका संवाहक घोषणा गर्ने पण्डित रामहरि र क्रान्तिकारी नेता हुँ भनेर डुक्रिने हरिबहादुर सदियौं देखिको हिंसा र विभेदपूर्ण सामाजिक परिस्थितिको डटेर सामना गर्न छोडेर आफ्नू पुरानो थातथलोबाटै पलायन भएको अर्को तातो समाचार लेखियो।”

बाबुराम न्यौपाने “उत्स”
दमक,झापा
[email protected]