मलेसिया स्थित तामाङ घेदुङ र कलाकार संघको १५ जनालाई खाद्यान्न सहयोग

everest kitchen


मलेसिया । नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसिया र नेपाल तामाङ कलाकार संघ मलेसिया परिवारले १५ जना नेपालीलाई खाद्यान्न सहयोग गरेको छ ।

संघले मलेसियामा जारी आवागमन नियन्त्रण आदेशका कारण प्रभावित मलेसियाको पेनाङ राज्य स्थित फेडेरल ओटस मिलमा कार्यरत ११ जना र सेलाङ्गोर राज्य स्थित ४ जना नेपालीलाई खाद्यान्न उपलब्ध गराएको हो । लामो समय देखि काम नभएपछि तलब नपाएका र कम्पनीले जिम्मेवारी लिन नचाहेपछि उनीहरुलाई खाद्यान्न अभाव भएको संघले जनाएको छ ।

सेलाङ्गाेरमा रहेका ४ जनालाई खाद्यान्न उपलब्ध गराउन नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाका सचिव अमिर लोप्चन तामाङ र पेनाङमा रहेका ११ जनालाई प्रवास शाखा मलेसिया क्षेत्रीय समिती पेनाङ मलेसियाका अध्यक्ष राम काजी तामाङ पिडितको स्थानमा पुगेर सहयोग गरेको संघले बताएको छ ।

पेनाङमा रहेका ११ जना काठमाडौं स्थित कालिमाटीडोलमा रहेको आकर्ष इन्टरनेशनल प्रा.लि बाट मलेसिया पुगेका थिए भने सेलाङ्गाेरमा कार्यरत ४ जना मध्य २ जना मास मेनपावर र बाँकी दुई जना कस्तुरी मेनपावर बाट मलेसिया पुगेका थिए। उनीहरुको म्यानपावरले पनि समस्या नबुझेको गुनासो रहेको छ ।