विभिन्न तीन सडक दुर्घटनामा तीनजनाको मृत्यु

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौं । झापाको  दमक नगरपालिका-१ मामाचोकस्थित सडकमा मे.१ च ९१७ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७८ वर्षीय दुर्गा प्रसाद अधिकारीको सोमबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको लाईफ लाईन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको  छ ।

त्यस्तै सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-५ गाग्रेढुङास्थित सडकमा ना.१ क ९८०५ नम्बरको मिक्चर ट्रकले प्रदेश ३-०२-०१० प २३७२ नम्बरको मोटरसाइललाई सोमबार साँझ ठक्कर दिंदा मोटरसाइकलमा सवार हरीहरपुरगढी गाउँपालिका-३ बनौली बस्ने ६० वर्षीय सन्तराम राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक हरीहरपुरगढी गाउँपालिका-३ बनौली बस्ने ३० वर्षीय बिकाश बिकको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यस्तै सिन्धुलीकै , घ्याङलेख गाउँपालिका-१ अमलेस्थित सडकमा ना.२ च ९३६६ नम्बरको बलेरो गाडी सोमबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार सोही ठाउँ बस्ने २६ वर्षीय बलराम बम्जनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो । सिन्धुलीबाट अमलेतर्फ खाद्यान्न लिएर जाँदै गरेको उक्त गाडी उकालोमा ओट राख्ने क्रममा ब्रेक नलागी चिप्लिएर दुर्घटना भएको थियो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।