आमा : गीतारानी बलाल

everest kitchen
                 गीतारानी बलाल                   

लघुकथा : आमा
गीतारानी बलाल

बिहान चिया पिएर गएको छोरो दिउँसो अबेरसम्म पनि घरमा नआएको हुँदा आमा चिन्तित भइन् । मोवाइलमा पटक पटक फोन गरिन् तर सम्पर्क हुन सकेन भन्ने जवाफ आयो ।
उनले आफ्नो साथीलाई फोन गरिन्, “सलिना ! म आदिको ममी गीता बोल्दै छु । हाम्रो बाबु त्यहाँ आएको छ कि भनेर फोन गरेकी हुँ ।”
“आएको छैन, हाम्रो बाबु पनि साथीको घर जान्छु भनेर गएको आएको छैन ।” सलिनाले भनिन् ।
गीताले ओरपर खोजिन्, चिनेको ठाउँमा फोन गरिन् तर पनि कुनै पत्तो लागेन ।
धेरै समयपछि आदिको फोन लाग्यो । उनले केही सोध्न नभ्याउँदै आदिले भन्यो, “म साथीकोमा छु, बेलुकी आउँछु । मेरो चिन्ता नगर्नु ।”
थप कुरा गर्न नभ्याउँदै फोन राख्यो । गीताका मनमा कुरा खेले, ‘कस्तो साथी हो !’
बैठक कोठामा बसेर टिभी हेर्दै थिइन् । टिभीले युवाहरुले निकालेको जुलुसको प्रत्यक्ष प्रसारण गरिरहेको थियो । देशको सिमानामा भएको अतिक्रमणको बिरुद्धमा युवाहरुले बिरोध गरेको सुचना आइरहेको थियो टिभीको क्याप्सनमा ।
गीताले मनमनै भनिन्, ‘यस्तो बेला यति धेरै मानिस एकैठाउँमा जम्मा नहुनुपर्ने ।’
हेर्दै थिइन्, जुलुसको बिचमा प्लेकार्ड बोकेर उभिएको एउटा युवालाई देखिन् । मनमा शङ्का लाग्यो । ठम्याएर हेरिन्, केही समयपछि उनको शङ्का यथार्थमा परिणत भयो । उनले देखेको युुवा अरु कोही नभएर आदि नै थियो ।
जुलुसको बिचमा छोरालाई देखेपछि गीताका मनमा अर्को आँधीहुरी चल्न थाल्यो ।
उनले मनमनै विचार गरिन्, ‘कोरोनाको संक्रमण बढिरहेको बेला जुलुसमा गएर यसले राम्रो काम गरेन । भीडमा जाँदा कोरोना स¥यो भने के हुन्छ ?’
त्यसपछि उनको मन अमिलो भयो ।
एकैछिन्पछि फेरि सोचिन्, ‘कसै न कसैले अन्यायको बिरोध त गर्नै पर्छ । यो बेला कोरोनासँग डराएर बस्नेभन्दा पनि देशको सिमाना जोगाउने कुरा प्रमुख हो ।’
छोरामा राष्ट्रवादी चेतना अभिवृद्धि भएकोमा गीताको मन खुशीले पुलङ्कित भयो । केही समयपछि उनले आफ्नो छोरो धेरै ठूलो मान्छे भएको कल्पना गर्न थालिन् ।

– रुपन्देही