विभिन्न तीन स्थानमा जबरजस्ती करणीको घटना, आरोपित पक्राउ

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौं । ललितपुर, ललितपुर महानगरपालिका-२९ हरिसिद्धि डेरा गरी बस्ने संखुवासभा मकालु गाउँपालिका-२ घर भएका २३ वर्षीय शम्भु राईलाई जबरजस्ती करणी गरेको अभियोगमा आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । शम्भुले एक महिलालाई जेठ २९ गते विभिन्न प्रलोभनमा पारी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै पर्वतमा, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जलजला गाउँपालिका-३ बस्ने ३२ वर्षीय रविन जिसीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिसीले ती महिलालाई जेठ १५ गते जबरजस्ती करणी गरेको घटनाको अनुसन्धानमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर जबरजस्ती करणी अपराध मुद्धामा जिल्ला अदालत पर्वतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

यस्तै बारामा, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा निजगढ नगरपालिका-११ रतनपुर बस्ने ५३ वर्षीय झनक बहादुर खड्कालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई २०७६ फागुन २५ गते राति जबरजस्ती करणी गरेको भन्ने पीडितले २०७७ असार ७ गते दिउँसो ईलाका प्रहरी कार्यालय निजगढमा लिखित जाहेरी दिए पश्चात तत्काल खटिएको प्रहरीले खड्कालाई पक्राउ गरेको हो ।