सवारी पासको दुरुपरोग गरी यात्रु ओसारपसार गर्ने बस चालकहरु पक्राउ

everest kitchen
photo file

काठमाडौं । सवारी पास दुरूपयोग गरी यात्रुहरू ओसारपसार गर्ने दुई जना सवारी चालकहरुलाई महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख २२८५ नम्बरको बसका चालक बाँके कोहलपुर नगरपालिका-२ घर भएका ३७ वर्षीय सूर्य किरण कर्मचार्य रहेका छन । कर्मचार्यले भारतबाट आएका नेपालीहरूलाई विभिन्न जिल्लामा पुर्‍याउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बाँकेबाट जारी भएको पास बोकी नेपाल-भारत रुपेडिया नाकाबाट ३ जना यात्रुहरू र नेपालगन्जबाट ४ जना यात्रु गरी ७ जना यात्रुहरु लिई आएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको बताएको छ । उनले यात्रुबाट २१ हजार रुपैयाँ असुल गरेको खुलेको छ ।

यस्तै कैलालीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख १३४० नम्बरको बसका चालक कैलाली गोदावरी नगरपालिका-१ घर भएका ३१ वर्षीय लोक बहादुर खत्री पनि सोही स्थानमा पक्राउ परेका हुन । उनले उद्योग, बाणिज्य तथा आपुर्ति विकास मन्त्रालय काठमाडौंबाट कृषि तथा पशुपन्क्षीजन्य कार्य गर्न जारी भएको पास बोकी कैलालीबाट १२ जना यात्रुहरूबाट १८ हजार रुपैयाँ भाडा असुल गरि लिई आएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई संक्रामक रोग ऐन, २०२० अनुसार आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।