श्रोत नखुलेको १८ लाख नगद सहित ३ जना प्रहरी नियन्त्रणमा

everest kitchen
photo file

महोत्तरी ।  मनराशिष्वा नगरपालिका-२ भलुई चौक नजिकबाट श्रोत नखुलेको नेपाली रुपैयाँ १८ लाख सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जलेश्वर नगरपालिका-२ बस्ने १९ वर्षीय रोहित कुमार साह, २२ वर्षीय संजय कुमार साह र २७ वर्षीय जय कुमार साह रहेका छन् । उक्त १८ लाख रुपैयाँमध्ये रोहितको साथबाट ९ लाख रुपैयाँ, संजयको साथबाट ३ लाख ५० हजार रुपैयाँ र जयकुमारको साथबाट ५ लाख ५० हजार रुपैयाँ प्रहरीले बरामद गरेको हो ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको प्रहरीले जलेश्वरबाट सम्सीतर्फ जाँदै गरेको ज.११प ८१०८ नम्बर र प्रदेश २-०३-००३ प ४०९७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।