विभिन्न स्थानमा ७ जनाको डुबेर मृत्यु

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौं । बैतडी, दशरथचन्द नगरपालिका-२ देउमाडौं बस्ने राम लाबडको छोरा १४ वर्षीय अंकित लाबड र सोही ठाउँ बस्ने तारा लाबडको छोरा ११ वर्षीय सन्दिप लाबडको सडक छेउको खाडलमा डुबेर सोमबार मृत्यु भएको छ ।

सोही ठाउँस्थित देहीमाडौंबाट नागार्जुन जाने सडकखण्डको सुन्दरखालीमा ह्युम पाईप राख्न सडकको छेउमा बनाइएको खाडलमा खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको हो ।

Advertise
Add
advertise

दाङ, घोराही उपमहानगरपालिका-१७ गैरागाउँ बस्ने मनोज चौधरीकी छोरी १५ महिनाकी आस्था चौधरीको खेल्ने क्रममा घर अगाडिको कुलोमा डुबेर सोमबार मृत्यु भएको छ ।
डुबेर अशक्त भएकी उनलाई उपचारको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यसैगरी गढवा गाउँपालिका-४ खजरौट बस्ने महोमद रजा मियाकी छोरी १ वर्षीया सल्मा खातुन मियाको घर नजिकै खेल्ने क्रममा बाल्टीमा डुबेर सोमबार मृत्यु भएको छ । डुबेर गम्भीर घाइते भएकी उनको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो ।

महोत्तरी, बलवा नगरपालिका-१० धमौरा बस्ने रबिन्द्र ठाकुरको छोरा ९ वर्षीय राहुल ठाकुरको घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेर सोमबार मृत्यु भएको छ ।

पर्सा, वीरगंज महानगरपालिका-१८ ईनर्वा मनिहारी बस्ने रिकेश पटेलको छोरा ५ वर्षीय निर्मल पटेलको आफ्नै घर अगाडि खेल्ने क्रममा पानीको ट्याङ्कीमा डुबेर सोमबार मृत्यु भएको छ ।

ट्याङ्कीमा खसेर अशक्त भएका उनलाई उपचारको लागि वीरगंजस्थित तराई अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

मोरङ, धनपालथान गाउँपालिका-६ कदमाहस्थित सडकको नालीमा सोही स्थान बस्ने ४५ वर्षीय उमेश शर्मा सोमबार मृत अवस्थामा फेला परेका छन् ।