गैर पत्रकारको नाम खोजी माग सहित पत्रकार महासंघको बझाङ शाखामा तालाबन्दी

everest kitchen

समीर मल्ल
बझाङ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङले गैर पत्रकारहरुको नाम सिफारिस गरेको भन्दै प्रेस संगठन बझाङ शाखाले आपत्ति जनाएकाे छ । गैरपत्रकारहरुलाई महास‌घकाे सदस्यका लागी सिफारिस गरेर प्रदेश र केन्द्रमा पठाएको भन्दै प्रेस संगठन जिल्ला शाखा बझाङले प्रेस विज्ञप्ति निकाल्दै महासंघ कार्यालयमा तालाबन्दी गरेको हो ।

नयाँ सदस्य थप्ने सवालमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङका अध्यक्ष जगदिश रोकाया, उपाध्यक्ष सम्राट सिंह र सचिव शैलेन्द्र रोकाया सहितकाे तीन सदस्यिय छनौट समिति छ । समिति बनाएको भए पनि उपाध्यक्ष सम्राट सिंहलाई नबोलाएर एकलौटी रूपमा अध्यक्ष र सचिवले गैरपत्रकारसहित ३६ जनाको नाम नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश र नेपाल पत्रकार महासंघ काठमाडौं पठाए भन्दै प्रेस संगठनले प्रेस विज्ञप्ति निकाल्दै महासंघ कार्यालयमा तालाबन्दी गर्नुपरेको संगठन जिल्ला शाखा बझाङका अध्यक्ष रमेश केसीले बताए ।

विगतमा पनि गैरपत्रकार समावेश गरी पत्रकारिता क्षेत्रमा धब्बा लगाउँदै आएका महासंघ केही पदाधिकारीले यस पटक पनि सोही हर्कत देखाएको प्रेस संगठनको आरोप छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङका उपाध्यक्ष सम्राट सिंहले पनि आफूलाई जानकारी नै नदिई अध्यक्ष र सचिवले नाम सिफारिस गरि पठाएको भन्दै आपत्ति जनाए । हालसम्म बझाङमा विभिन्न एफएम रेडियो, टेलिभिजन र पत्रपत्रिकामा गरी करिब ३५ जना मात्र क्रियाशिल रहेका छन् तर नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङमा यसअघि ४२ जना आवद्ध छन् भने यसपटक थप ३६ जनाको नाम सदस्यता थपका लागि पठाइएको थियो ।

क्रियाशिल पत्रकारकै क्षमता अभिवृद्धि नभएका बेला गैरपत्रकार थप गरेर सदस्यता थप गर्नु उचित नभएको पत्रकार वसन्तप्रताप सिंहले बताए । यसअघि पनि गैर पत्रकारको सदस्यता खारेजीका लागि माग गरेको प्रदेश र केन्द्रमा ध्यानाकर्षण गराएको प्रेस संगठन जिल्ला शाखा बझाङले अब गैर पत्रकारको नाम खारेज नगरिएसम्म तालाबन्दी रहिरहने जनाएको छ । ‘क्रियाशिल नरहेका प्रेस संगठन र प्रेस युनियन दुवैका गैर पत्रकारलाई हटाउनुपर्ने प्रेस संगठन जिल्ला शाखा बझाङको पुरानै माग हो तर पनि यसअघि केन्द्र र प्रदेशमा ध्यानाकर्षण गराउँदा पनि अहिलेसम्म सुनुवाइ भएको छैन,’ प्रेस संगठन जिल्ला बझाङका अध्यक्ष रमेश केसीले भने ।

विगत लामो समयदेखि प्रेस युनियनको दबदबा रहेको बझाङमा आफूहरू पद र प्रतिष्ठामा पुगिरहन युनियनका केही पदाधिकारी गैर पत्रकार थप गरी पहुँच कायम राख्दै आएका छन् । बझाङका पत्रकारको लिस्टमा राजनीतिक दलका नेता कार्यकर्ता, कानुन व्यवसायी र व्यापार व्यवसायी संलग्न रहँदै आएका छन् । यस पटक सदस्यता थपका लागि महासंघ जिल्ला शाखा बझाङले छनाैट गरेकाहरु महासंघका पदाधिकारीका नातेदार, व्यापारी, नेता, कानुन व्यवसायी र विमा कम्पनीका एजेन्ट पनि रहेका छन् ।