मापदण्ड विपरीतका सेनिटाइजरमा विभागले लगायो बिक्री वितरणमा रोक

everest kitchen
.

काठमाडौं । औषधि व्यवस्था विभागले विषाक्त रसायन मिश्रित ह्यान्ड सेनिटाइजर विक्री वितरणमा रोक लगाएको छ। राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको सेनिटाइजरको नमूना परीक्षणमा विषाक्त रसायन मेथानल मिश्रण गरेको भेटिएकोले मानव स्वास्थ्यमा हानी पुर्‍याउने भन्दै विभागले त्यस्ता सेनिटाइजर प्रयोग नगर्न भनेको हो।

गोरखापत्रमा सोमबार सूचना निकालेर विभागले विषाक्त रसायन मेथानल समावेश भएको तथा मापदण्ड विपरीतका समिश्रण सेनिटाइजरमा पाइएकोले त्यसले मानव स्वास्थ्यमा गम्भीर नकरात्मक असर पार्ने उल्लेख गरेको छ। त्यस्ता सेनिटाइजर सर्वसाधारणहरूले प्रयोग नगर्न, नगराउनु हुन र त्यस्ता सेनिटाइजरहरूको उत्पादन तथा विक्री वितरण अविलम्ब रोक्का राख्नसमेत विभागले आग्रह गरेको छ।

विभागको उक्त सुचना अनुसार एक भारतीय कम्पनीसहित ९ वटा कम्पनिको उत्पादनहरुमा रोक लगाएको उल्लेख गरेको छ । ती सेनिटाइजरमा हानिकारक रसायनको मिश्रण पाइएपछि रोक लगाएको हो । यसअघि पनि मापदण्ड विपरीतका सेनिटाइजर बजारमा आएपछि विभागले विक्री वितरणमा रोक लगाएको थियो । कोरोनाभाइरस महामारीपछि सेनिटाइजरको माग धेरै छ।