सस्तोमा डलर दिने भन्दै पाँच लाख रुपैयाँ हात पारेर भाग्ने दुई जना नियन्त्रणमा

everest kitchen

भक्तपुर । भक्तपुर नगरपालिका-१० कमलविनायक वसपार्कबाट सूर्यबिनायक बस्ने दोलखा घर भएका एक व्यक्तिलाई डलर देखाई सस्तो दरमा साटीदिन्छु भन्दै नगद ५ लाख रुपैंयाँ लुटपाट गरेको अभियोगमा २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भक्तपुर चारदोबाटो डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका २३ वर्षीय विमल भण्डारी र २१ वर्षीय निर्मल भण्डारी रहेका छन् । उक्त नगद लुटी फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले चाँगुनारायण नगरपालिका-८ रातोपाटीबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट नगद ३ लाख ३१ हजार रुपैयाँ, २ थान मोबाइल, १ थान मोटरसाइकल, २ थान पर्स र ८ थान विभिन्न देशको डलर समेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । यसअघि पनि भक्तपुरमा डलर देखाएर पैसा लिएर भाग्ने पाँच जना पक्राउ परेका थिए ।