पांच पिण्ड : सम्झना काफ्ले

everest kitchen

लघु कथा : पांच पिण्ड                                     सम्झना काफ्ले

खत्री कूलको वंश विनासै हुने भैगो के गर्नु दैवले नै ठगे पछि ! ज्योतिषीसंग गनगन गरिरहेकी थिइन् नरमाया । “अझै त केहि बितेको छैन हजूर, मैले संतोष सरको चिना हेरेको यस पटक त छोरा हुने योग पक्का देखिएको छ” !” खै के भन्नू पण्डित जी ,आफ्नै पाँचवटी छोरी खुरु भईगए ! बल्ल जन्मिएको एउटा पिऊसोका पनि छोरा होलान् भन्ने आश गरेको दुईटी नातिनी भैसके !”

कूलको वंश अघि बढाउन छोरै चाहिने सामाजिक मान्यता दरोसंग बोकेका खत्री परिवार! बुहारीले वर्सेनी दुईटी छोरी पाएपछि अर्को बच्चा नपाउने कुरा छोरैले सुनायो| नरमायाले गुनासो गरिरहिन् तर हरेक पटक संतोषले एक न एक थोक भनेर टारिरहेकै थियो | बुहारी प्रति नरमाया आक्रोषित थिइन् |सधैंको टोकसोले आजित संतोष हैरान थियो । नरमाया र मानबहादुरका छोरीहरुले भाउजूलाई निकै मायां गर्थे

संतोषले बि.एड् पास गरिसक्ने बित्तिकै गाउँकै नि. मा. वि मा शिक्षक जागिर पाएको थियो | सगोल परिवारको जेठो छोरो संतोष मुनि पाँचवटी छोरीहरु थिए |घरमा सघाऊ पघाऊ पनि हुने , कतै नाति भयो भने खत्रीकूलको वंश अघि बढ्ने थियो भन्ने पनि गुप्ति मनसाय ! बा आमाको ईच्छामा संतोषले सहमति जनायो | पल्लो गाउंकी निर्मला र संतोषको बिहे भएको पनि दश वर्ष भइसकेको थियो | निर्मला पनि गाउंकै सहकारीमा जागिरे थिइन्|

दुई सन्तान ईश्वरका वरदान भनेर अर्को सन्तान नजन्माउने संतोष र निर्मलाको संयुक्त निर्णयमा बुहारीकै दोष बढी देखिन्थ्यो | सधैंको कचकचले हैरान निर्मला संतोषलाई शहरतिर जागिर खोज्न प्रेरित गरिन् र नभन्दै उनीहरु दुबैले शहरमा राम्रै जागिर पाए |

दाजु भाउजू शहर गएको कारण थाहा पाएका निरमायाका छोरीहरुले आमालाई जिस्क्याएर “भने, लू आमा अब हामी पाँचै जनाले पालै पालो पाँच पिण्ड खुवाउने भयौं नि !“