ललितपुरमा मात्रै ४८ को कोभिडबाट निधन

everest kitchen

ललितपुर । ललितपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५०० भन्दा बढी रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म दुई हजार ५०७ सक्रिय सङ्क्रमित सङ्ख्या पुगेको छ । साथै अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ ।

जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार १५८ र अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ६०३ पुगेको स्वास्थ्य कार्र्यालय प्रमुख डा खगेश्वर गेलालले बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै मानिसले कोरोनाको डर मान्न छाडिसकेकाले यहाँ दिनानुदिन सङ्क्रमितको सङ्ख्या बढीरहेको देखिन्छ, सार्वजनिक यातायातमा हिँड्ने आधाजसो मानिसले मास्कको उचित प्रयोग नगर्नुका साथै आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन पनि हेलचक्र्याइ गरिरहेका छन् ।”

कोभिड सङ्क्रमित स्वयंले सजक भएर घरमा एकान्तबास बसिदिँदा यसको न्यूनीकरण चाँडै हुने गेलालले जानकारी गराउनुभयो । लपु महानगरपालिकामा सक्रिय सङ्क्रमित सङ्ख्या एक हजार ५८८ र मृतकको सङ्ख्या २७ पुगेको छ ।

ती मृतकको उमेर भने ५५ वर्षदेखि ६० वर्षमाथि रहेको प्रवक्ता राजु महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ जम्मा सङ्क्रमित सङ्ख्या तीन हजार ३४६ र डिस्चार्ज हुनेको सङ्ख्या एक हजार ७३१ रहेको छ ।” कोरोना महामारी बढ्दै गइरहेकाले जनता स्वयं आफैँ जिम्मेवार हुनुपर्ने महर्जनले बताउनुभयो । “यहाँ होम आइसोलेसनमा मृत्यु हुनेको शव व्यवस्थापन गर्न ग्राहो भइरहेको छ”, उहाँले भन्नुभयो ।

यसैगरी महानगरपालिकामा पुरुषभन्दा महिला सङ्क्रमित सङ्ख्या बढी छ । जसमा एक हजार ४८३ महिला र एक हजार ४०२ पुरुषले कोरोनाको प्रभाव झेलिरहेका ¥यापीड रेसपोन्स टिमकी संयोजक देवी गुरुङ्ले बताउनुभयो । गोदावरी नगरपालिकामा सक्रिय सङ्क्रमित सङ्ख्या १९४ र मृतकको सङ्ख्या पाँच पुगिसकेको नगरपालिकाले जनाएको छ ।

गोदावरीमा कूल सङ्क्रमित सङ्ख्या ३८१ र निको भएर डिस्चार्ज हुने सङ्ख्या १९९ पुगेको छ । गोदावरीले वडा नं ६ टीकाभैरवको आनन्दवन अस्पताल तथा वडा नं ११ को बज्रबाराही चापागाउँ अस्पतालमा आइसोलेसनको व्यवस्था गर्नुका साथै वडा नं ४ बडिखेलको कोरियन होटलमा कवारेन्टाइनको पनि व्यवस्था गरिरहेको प्रवक्ता मिलन सिलवालले बताउनुभयो ।

महालक्ष्मी नगरपालिकामा सक्रिय सङ्क्रमित ३४७ र हालसम्म तीन नगरवासीले मृत्युवरण गरिसकेका सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “तीमध्ये होम आइसोलेसनमा ३२५ र अस्पतालको आइसोलेसनमा २२ व्यक्ति रहेका छन् ।” महालक्ष्मीमा जम्मा सङ्क्रमित सङ्ख्या ६०६ र यसमा स्वास्थ्य लाभ गर्ने २५६ रहेका पोखरेलले जानकारी गराउनुभयो ।

नगरपालिकाभित्र कोरोना सङ्क्रमित सङ्ख्या बढेसँगै आफूहरुले परीक्षणको दायरा बढाएको र निरिन्तर रुपमा सचेत पनि गराइरहेको नगरप्रमुख रामेश्वर श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्क्रमितको अवस्थालाई मध्यनजर गरेर नगरपालिका विभिन्न वडामा ८० शय्याको क्वारेन्टिनको व्यवस्था गरिरहेका छाँै ।” अक्सिजन अभावका कारण आइसोलेसनको भने व्यवस्था गर्न नसकेको श्रेष्ठले जानकारी गराउनुभयो ।

महाङ्काल गाउँपालिकामा सक्रिय सङ्क्रमित पाँच र बाँकी नौ निको भएर डिस्चार्ज भइसकेका स्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ जम्मा सङ्क्रमित सङ्ख्या १४ रहेका छन् ।” कोरोनाको लक्षण देखिएकालाई महाङ्काल विद्यालयमा राख्ने गरेको र वडा नं ३ गोटिखेलमा पाँच शय्याको आइसोलेसन बनाउने तयारी भइरहेको चन्दले जानकारी गराउनुभयो ।