भक्तपुरमा अत्यावश्यक सेवा बाहेक सबै सेवाहरु बन्द

everest kitchen

 

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको छ । काठमाडौँ उपत्यकाभित्र कोभिड–१९ सङ्क्रमितको जोखिम बढेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको हो ।

पछिल्लो समय काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमणको दर अत्यधिक बढिरहेकाले सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयमा सेवाग्राहीको भीडभाड अत्यधिक भई सेवाग्राहीमा समेत सङ्क्रमण फैलन सक्ने अवस्था भएकोले अत्यावश्यक सेवा बाहेक बन्द गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिईन ।

गत असोज २६ गते बसेको मन्त्रिपरिषद् बैठकले ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेको जिल्लाको कुनै पनि भागमा कुनै पनि सेवा रोक लगाउन सक्ने निर्णय गरेको थियो । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ९०० नाघेकाले जिल्लाभित्रका सम्पूर्ण सरकारी कार्यालयका अत्यावश्यक बाहेकका सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जिल्ला प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।