भारतीय गुप्तचर संस्था रअ प्रमुख र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

everest kitchen

काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको पुष्टि भएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार गोयलले बुधबार बेलुका प्रधानमन्त्रीलाई सरकारी निवास बालुवाटारमा भेटेका हुन्। भेटका क्रममा उनले नेपाल-भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राखेको थापाले फेसबुक मार्फत बताएका छन।

गोयल इन्डियन एयरफोर्सको जहाजबाट आएका थिए। बिहीबार बिहान १० बजेतिर चार्टर्ड विमान दिल्लीतर्फ फर्किसकेको छ। बिहीबार दिउँसो काठमाडौं आएका गोयलले अरू नेताहरूसँग भने भेटेको पुष्टि भएको छैन।

नेकपाका अर्का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले गोयलसँग प्रचण्डको भेट नभएको बताएको छ। ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बारेमा केही अनलाइन मिडियामा ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने’ शीर्षकमा प्रकाशित समाचारप्रति हाम्रो सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले भनेका छन्,‘संवेदनशील विषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपिल गर्दछु।’