गाउँपालिकाको सक्रियतामा ‘मजदूर सञ्चयकोष’ स्थापना

everest kitchen
फोटो : गुगल फाइल

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मजदूरका लागि सञ्चयकोष स्थापना गरेको छ । पालिकाभित्र ज्यालादारी काम गर्ने न्यूनआय भएकालाई सूचीकृत गरी कामका आधारमा सञ्चयकोषमार्फत रकम उपलब्ध गराईने भएको हो ।

गाउँपालिकाको बैठकले पालिकाको मजदूर सञ्चय कोष कार्यविधि, २०७७ पारित गरी लागू गरेको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए । “ दैनिक रु ८०० देखि एक हजार ५०० सम्म आम्दानी गरे तापनि बचत गर्ने बानीको विकास नभएकै कारण श्रमिक वर्ग अप्ठ्यारोमा पर्ने गरेका छन्”, अध्यक्ष सुवेदीले भने “जीवनभर अर्काका लागि श्रम गर्ने तर अप्ठ्यारो परेका बेला कोही पनि नहुने अवस्था आउने भएकाले बचतमा जोड दिनका लागि सो सञ्चयकोषको स्थापना गरिएको हो ।”

सञ्चय कोषका लागि पालिकाभित्रका १८ देखि ५९ वर्ष उमेर समूहका ज्याला मजदूरी गर्ने विपन्न मजदूरलाई लक्षित गरी सो सञ्चयकोष स्थापना गरिएको अध्यक्ष सुवेदीले बताए । गाउँपालिकाले पालिकाभित्रका विपन्न मजदूरहरुलाई आ–आफ्नो वडामा सूचीकृत हुन सूचना जारी गरेको छ । पालिकाले चालु आर्थिक वर्षमा सार्वजनिक विकास निर्माणका काममा मजदूरलाई संलग्न गराई उनीहरुको नाममा बैंकमा खाता खोल्ने र सोही खातामा उनीहरुको ज्याला रकमबाट १५ प्रतिशत र पालिकाबाट १५ प्रतिशत सञ्चय कोषमा जम्मा गरिदिने व्यवस्था मिलाइएको अध्यक्ष सुवेदीले बताएका छन् ।