त्रिवेणीमा पहिलोपटक एम्बुलेन्स सञ्चालनमा, स्थानीयलाई सहुलियत सेवा दिने

everest kitchen
advertise

काठमाडौं । रुकुम (पश्चिम ) त्रिवेणी गाउँपालिकामा पहिलोपटक एम्बुलेन्स सेवा सुरु भएको छ । “नवजीवन स्वास्थ्य सहकारी संस्था लिमिटेड” त्रिवेणी गाउँपालिका -६ ले स्थानीय नागरिकलाइ विशेष सहुलियत दिने उद्देश्यले उक्त एम्बुलेन्स सेवा सुरु गरेको हो ।

त्रिवेणी वासी स्थानीय नागरिक जो प्रसुती व्यथा लागेका महिला, जेष्ठ नागरिक र सडक दुर्घटना तथा प्राकृतिक प्रकोप प्रभावितलाई विशेष छुट सेवा सहित गाउँपालिकामा पहिलोपटक एम्बुलेन्स सेवा सुरु गरेको संस्थाका अध्यक्ष अमर ओलीले जानकारी दिए । उनका अनुसार उक्त एम्बुलेन्समा नेपाल सरकारको भन्सार राजस्व छुट रहेको र सहकारीकै शेयर सदस्यबाट  संकलित शेयर रकम करिब साढे १२ लाख लागतमा सेवा सुरु गरिएको हो ।

एम्बुलेन्स सेवा “नवजीवन स्वास्थ्य सहकारी संस्था लिमिटेड” र “त्रिवेणी सिटी अस्पतालको” सहकार्यमा सुरु हुने र २४ सै घण्टा सेवा उपलब्ध हुने बताएको छ । त्रिवेणी वासीलाई मात्रै नभइ जिल्ला वासी र अन्यलाई पनि एम्बुलेन्स सेवा प्रदान गरिने संस्थाले जनाएको छ । उक्त एम्बुलेन्स सेवा सुरु भएसंगै करिब १ घण्टा टाढा रहेको जिल्ला अस्पताल सल्लेबाट एम्बुलेन्स बोलाउनु पर्ने बाध्यता कम हुनेछ ।