विश्वकप छनोट खेलमा नेपालले खेल्ने खेलको मिति तय

everest kitchen

काठमाडौं । फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ को छनोट चरणको नयाँ खेल तालिका तय भएको छ। कोरोना भाइरसका कारण स्थगित भएका खेलको नयाँ तालिकालाई एएफसी प्रतियोगिता समितिले स्वीकृत गरेको हो।

छनोटअन्तर्गत अहिले भइरहेको दोस्रो चरणका खेलहरू आगामी जुन १५ सम्म सक्ने गरी नयाँ खेल तालिका तय भएका छन्। नयाँ खेल तालिकाअनुसार दोस्रो चरणको छनोटअन्तर्गत म्याच डे ७ र म्याच डे ८ का खेल आगामी मार्चमा हुनेछन्। यस्तै म्याच डे ९ र म्याच डे १० का खेल जुनमा गरिनेछ।

जुनमा दोस्रो चरण सकिएपछि तेस्रो चरणको छनोट सेप्टेम्बर २०२१ मा सुरु गरिनेछ। एएफसीका अनुसार मार्च २०२२ सम्ममा छनोट चरण सकिनेछ । यसअघि छनोटका खेलहरू अक्टोबर ८ र १३ तथा नोभेम्बर १२ र १७ गराउने भनिएको थियो। तर कोरोनाका कारण छनोट खेलहरु २०२१ सम्मका लागि स्थगित गरिएको थियो।

दोस्रो चरणको छनोटमा नेपालले अब तीन खेल खेल्न बाँकी छ। म्याच डे ७, ८ र ९ का खेलहरू नेपालले घरेलु मैदानमा खेल्ने तय छ। नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्नेछ। समूह ‘बी’ मा रहेको नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अङ्क जोडेर चौथो स्थानमा छ। नेपालले चाइनिज ताइपेईलाई हराएको थियो। अन्य चार खेलमा पराजित भएको थियो।