जुवा

everest kitchen

लघुकथा :- जुवा

राजु क्षत्री अपुरो

“फुपू दिदी कोशेलीपात बोकेर टीका लगाउन आउनुहुन्छ यो राख” भन्दै हजारको नोट दिएर आमा माइत जानु भयो। चारैतर्फ झिलिमिलीको उल्लासमय वातावरणमा कतै देउसिरे त कतै भैली…. भन्दै कर्णप्रिय संगीतका धुनका आवाजहरू आइरहेका थिए । कतै मार रा~~~~~ भन्दै कौडा फ्याँकिरहेका देखिन्थे । कोही आफ्ना समूहमा तासको फ्लाँस भन्ने खेल खेल्नमा मस्त थिए ।
साथीले भन्यो ,-” हामीपनि मिसिएर फ्लास खेलौँ । तिहारमा नखेलेको तास कहिले खेल्ने ? “मपनि जुटपत्तीबाट तीनपत्ती खेल्न सिकिसकेको थिएँ । हामी दुई जनापनि समुहमा मिसिएर खेल्न थाल्यौं ।

म पहिलो पटक ठूलो रकम लिएर तीनपत्ती खेल्दै थिएँ र जितिरहेकोपनि थिएँ । अब उठ्ने बेला हुँदै थियो, मलाई बाँडेको तासमा तीनवटा बादशाहहरू देखा परे । मनभित्र खुसीको सीमा थिएन ।

मैले पैसा लगाउदै गएँ । मेरो विपक्षमा बसेको साथीपनि निडर भएर पैसा लगाइरहेको थियो। मपनि ढुक्कसँग पैसा थप्दै गएँ । हेर्दाहेर्दै मेरो साँवा र मैले जितेको सबै पैसा खालमा पुगिसकेको थियो। अब मसँग शो गर्ने (पत्ती उल्टाउने)बाहेक अर्को विकल्प नै थिएन । म बाजी खानेमा ढुक्क थिएँ । मैले तासको पत्ति उल्टाएँ । विपक्षमा रहेकाले तीन एक्का देखायो। एकछिन त म अवाक् हुन पुगेँ ।
————————–

भोलिपल्ट फुपू दिदी आउनु भयो। उहाँले आफ्नो कर्तव्य निर्वाह गर्नुभयो । मसँग एक सुकापनि थिएन । सापट खोज्दा कहिँ कतै नपाएपछि दिदीलाई सबै कुरा जानकारी गराउँदै रित्तो ढोगेँ । आमाको माइत नजिकै भएको हुँदा मामालाई टीका लगाएर आमा केहीबेर मै घर आउनु भयो। मैले आमालाई सबै कुरा बेलिबिस्तार लगाएँ । उहाँ रिसले मुर्मुरिएपनि मलाई केही भन्नु भएन ।

आमा र फुपू भित्र कोठामा बसेर कुरा गर्दै हुनुहुन्थ्यो – मैले कान लगाएर सुनेंं ।म त्यति बेला झसङ्ग हुन पुगें जब फुपू भन्दै हुनुहुन्थ्यो , “यसको बाउपनि जुवाडे थियो। जग्गा बेचेको पैसा र तेरो सबै गरगहना जुवामा नहारेको भए अहिले बहुलाएर हिंड्दैनथ्यो ,जितेको भए यो पनि …………… ,यसलाई ठेस लाग्न जरुरी थियो ,बेलैमा लाग्यो। चेत पलाउँछ की ?”