छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ३ जनाको निधन

everest kitchen

 

मोरङ । मोरङको उर्लाबारी र सुन्दरहरैँचामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ। इटहरा–उर्लाबारी सडक खण्डअन्तर्गत उर्लाबारी–८ मा उत्तरबाट दक्षिणतर्फ गइरहेको मे ४ प ९२८५ नम्बरको मोटरसाइकल आफंै अनियन्त्रित भई दुर्घटना भएको हो। मोटरसाइकलको पछाडि सवार अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको डिएसपी तिमल्सिनाले जानकारी दिए ।

दुर्घटनामा घाइते भई टाउकोमा चोट लागेका मोटरसाइकल चालक उर्लाबारी–८ का ३० वर्षीय उपेन्द्र दनुवारको अरनिको अस्पताल उर्लाबारीमा उपचारइ भइरहेको छ भने पछाडि सवारको उपचारका क्रममा मृत्यु भएको र उनको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

त्यसैगरि पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–८ स्थित सलकपुर चोकमा आइतबार बिहान यात्रुबहाक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

पूर्वतर्फ जाँदै गरेको को २१ प ५९९१ मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३४१० नम्बरको बसले ठक्कर दिएको हो। बसको ठक्करबाट मोटरसाइकल चालक सुन्दरहरैँचा–७ का ४० वर्षीय बिजेस लिम्बूको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए।

विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइपु¥याएपछि घाइते लिम्बूलाई चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बस चालक झापाको कनकाई–१ का बाबुलाल मुर्मु र बसलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ।

यस्तै ,सुन्दरहरैँचा–९ चाँदनी पेट्रोलपम्प अगाडि शनिबार राति ९ः३० बजेतिर स्कुटर र ट्याक्टर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को ३८ प १६६५ नम्बरको स्कुटर र विपरीत दिशातर्फ जाँदै गरेको को २ त ३१९६ नम्बरको ट्याक्टर एकआपसमा ठोकिएको थियो।

ट्याक्टरको ठक्करबाट घाइते भएका स्कुटर चालक सुन्दरहरैँचा–९ का ४२ वर्षीय मकेश्वर चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिमल्सिनाले जानकारी दिए। घाइते चौधरीको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको र ट्याक्टर चालक फरार रहेका कारण खोजी भइरहेको तिमल्सिनाले जानकारी दिए ।