पोखरामा भेन्टिलेटर बैंक स्थापना

everest kitchen

कास्की । पोखरामा गम्भीर प्रकृतिका बिरामीको उपचार गर्न भेन्टिलेटर बैंक स्थापना अभियान थालिएको छ । हालै गठित स्वयमसेवी संस्था नेपाल भेन्टिलेटर सर्भिस कास्कीले पोखरामा एउटा भेन्टिलेटर र तीन वटा हाइफ्लो नोजल क्यानुला (एचएफएनसी) ल्याएको सो संस्थाका अध्यक्ष विश्वशङ्कर पालिखेले जानकारी दिए ।

पालिखेलेका अनुसार गम्भीर प्रकृतिका कुनै पनि बिरामी मर्न नपरोस् भनेर आफुहरुले भेन्टिलेटर जुटाउने अभियानमा लागेको बताए । “हामीले अहिले १० वटा भेन्टिलेटर तथा क्यानुला उपलब्ध गराउने लक्ष्य छ, हामीले २० वटा भेन्टिलेटर तथा क्यानुला उपलब्ध गराउन सक्ने छौ”, पालिखेले भने ।

पोखरामा ती साधन ‘स्टक’ राख्ने र जुन अस्पतालका बिरामीलाई आवश्यक पर्छ न्यूनतम शुल्कमा उपलब्ध गराइनेछ । सोको लागि सरकारीमा दैनिक भेन्टिलेटर प्रयोग गरेवापत एक हजार, सामुदायिकमा दुई हजार र निजी अस्पतालमा प्रयोग गरेवापत तीन हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

त्यसैगरी सरकारी अस्पातालमा दैनिक क्यानुला प्रयोग गरेवापत तीन सय, सामुदायिकमा पाँच सय र निजीमा सात सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । त्यसका लागि तालीम प्राप्त स्वास्थ्यकर्मी आवश्यक हुनेभएकाले आगामी शनिबार पोखरामा तालीम गर्न लागिएको सर्भिसका सदस्य रामकृष्ण ज्ञवालीले जानकारी दिए ।