लघुकथा – कुर्सी

everest kitchen

मुनाल पोखरेल

कुर्सीको अावश्यकता परेकोले पसलमा गएँ । मलाई वेतको सानो कुर्सी मनपर्यो । कुर्सी आँगनमा बसेर घाम ताप्न सजिलो र चिटिक्क परेको थियो । पसलेले मसित पैसा लिंदै “कुर्सी लिन भोलि अाउनू भन्यो । मैले कुर्सीमा बसेर बिहान आँगनमा घाम तापेको, चिया पिउदै अखबार पढेको दृश्यहरू उत्तिखेरै देख्न थालें ।

आँगनमा एउटा समारोह चलिरहेको थियो । नियाँलेर हेरें । एउटा भलाद्मी नेता झैं देखिने मान्छे सबैसँग हात जोडेर केही भन्दै थिए । उसको हाउभाउ देख्दा भोट मागेको जस्तो देखिन्थ्यो । अझ उदेकलाग्दो कुरा त ती भलाद्मी त्यही सानो वेतको कुर्सीमा बसेका थिए ।

अलिक पर एकजना कालो कोट लगाएका भद्र पुरुष केही भन्दैथे । कालो कोट लगाउने न्यायाधीश नै रहेछन् । उनी आफ्नो मनको निष्कर्ष सुनाएर झगडा मिलाउने कार्यमा तल्लीन थिए । सबैले ” जडभरत ” नाम गरेका व्यक्तिलाई त्यहाँ पाता फर्काएर उभ्याइएका थिए । कालो कोटवाला पनि मैले हिजो भर्खरै किनेको कुर्सीमा बसेका थिए ।

नजिकै झट्ट हेर्दा भलाद्मी मानिस जस्तै देखिने अर्का एकजना देखिए । ऊ पनि मेरै वेतको कुर्सीमा बसेका थिए । बडो महापण्डित झैं देखिन्थे । कुरा कोशी – काली लगायत नदीनालाको आयो , फेरि असमान सन्धिहरूको , नक्सा हिमाल , अरूण तेस्रो आदिको कुराहरू उठाउँदै थिए । ” सबै प्रपंच मेरै सृजना हो ” भन्दै थिए । ” अनि तौल मार्ने पनि मै , टेबुलमुनिबाट काम गर्ने पनि मै ! ” भन्दै थिए । उनले छानिएका भेडाहरूलाई एउटै चरनमा चराउने कुरा गर्दैथे । क्षण भरमा माहोल तात्यो । उपस्थित भलाद्मीहरुले एकअर्कामाथि कुर्सीले हानाहान गर्नथाले।

म झसङ्ग भएँ । नजीकैको स्कुलमा झुस्स दाह्रीवाला मास्टरको रूपमा म पाठ घोकाउँदै थिएँ , ” बाबु हो “क” माने कलम बुझ्यौ !” । मैले काँधमा झोला भिरेर कुर्सीमाथि उभिएको थिएँ । ” बाह्रखरीमा कतिवटा अक्षर हुन्छन् भन त देशका कर्णधारहरू हो ? जान्नेले उत्तर दिए नजान्नेले एकअर्कालाई कोट्याउन शुरुगरे।

मैले त्यही कक्षामा तीनवर्षदेखि बस्दै अाएका चारजना छात्रहरुलाई सोधेँ , नानी हो तिमीहरु भविष्यमा के बन्छौ भन त ? तिनीहरुले एकै स्वरमा भने , ” सर हामी नेता बन्छौं।”

मैले मुसुक्क हाँस्दै भने, ” केटा हो ! तिमीहरु भोलि मन्द दिमाग , फाटेका कपडा र जुत्ता लगाएर अाफ्नो लक्षमा पुग्नेछौ अनि फर्कदा सुटबुट लगाएर कारमा चढेर फर्कने छौ। त्यतिबेला तिमीलाई सबैले चिन्छन् तर तिमीले कसैलाई चिन्दैनौं।”

विराटनगर -१०