पसलमा ढुंगा हान्ने नगर प्रहरी प्रमुखविरूद्ध उजुरी

everest kitchen

काठमाडौं । दाङको घोराही उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख रुद्रप्रसाद पन्थीविरूद्ध पीडित व्यापारीले उजुरी दिएका छन् । बारा जिल्लाको पचौटा नगरपालिका वडा नं. २ घर भई हाल घोराहीको शहिद गेटमा शर्मा मोबाइल पसल सञ्चालन गर्दै आएका ३७ वर्षीय श्याम सुन्दर शर्माले जिल्ला प्रहरी कार्यालय घोराहीमा गएर सई पन्थीविरूद्ध शुक्रबार लिखित उजुरी दर्ता गराएका हुन्।

पीडित शर्माले आफ्नो जाहेरीमा सई पन्थीले आफूलाई सार्वजनिक रूपमा कुटपिट तथा गालीगलौज गरेको उल्लेख गरेको एक प्रहरी अधिकारीले बताए।

‘नगर प्रहरी प्रमुख पन्थीविरूद्ध नैतिकका विरूद्धको कसूर शीर्षकमा मुद्दा चलाइको छ,’ जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले भने, ‘उहाँका विरूद्ध हामीले सात दिनको म्याद थपका लागि माग गरी पठाएका छौं।’

नगर प्रमुख सईको कुटपिटबाट पसल सञ्चालक शर्माको अनुहारमा समेत चोट पटक लागेको डिएसपी खड्काले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए।