बाँकेका अस्पतालमा थप २ जना संक्रमितको निधन

everest kitchen

 

नेपालगञ्ज । बाँकेका अस्पतालमा शनिबार विहान थप २ जना कोरोना संक्रमितको निधन भएको छ । संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बर्दियाका ७२ वर्षीय पुरुषको भेरी अस्पताल र दाङका ७० वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा शनिबार विहान निधन भएको हो ।

बर्दियाको गुलरिया नगरपालिका वडा नम्वर ७ का ७२ वर्षीय पुरुषको भेरी अस्पतालमा शनिबार विहान सवा २ बजे र तुलसीपुर उपमहानगरपालिका १८ दाङका ७० वर्षीय संक्रमितको मेडिकल कलेज कोहलपुरमा शनिबार बिहान ९ बजे मृत्यु भएको कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले बताए ।

अस्पतालका अनुसार बर्दियाका संक्रमितमा कोरोनाको लक्षण देखिएपछि मंसिर ९ गते नमूना परिक्षण गर्दा १० गते कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो ।

स्वास्थ्यमा समस्या आएपछि मङ्सिर ११ गते अस्पतालमा भर्ना भएका उनलाई रोगको प्रकृति अनुसार, प्लाज्मा थेरापी, रेमडिसिभिरलगायतबाट उपचार गर्दा समेत सुधार नभएपछि शनिबार विहान सवा दुई बजे मृत्यु भएको भेरी अस्पतालले जनाएको छ ।

यसैगरी, दाङका संक्रमितको स्वास्थ्यमा समस्या देखीएपछि मङ्सिर १८ गते उनलाई मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो । कोरोनाको आशंकामा गरीएको परीक्षणमा ती ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।