भुल : सत्या अधिकारी

everest kitchen

लघुकथा-भुल

सत्या अधिकारी

सानो कुरा अपलोड गर्दा पनि लाइक कमेन्ट गर्ने मेरी साथी आज मेरो जन्मदिनमा न फोन गर्छे, न म्यासेज। अचम्म लागेको छ मलाई । होइन , यो रितालाई अाज के भयो ? रिसाएकी त होइन होली ? यस्तै कुरा खेलिराखे , मनमा दिनभरि ! बेलुकासम्म पनि नियास्रो लागिरह्यो।

रात पर्यो । के भयो ? भन्ने चिन्ताले छोडेन । अनि हातमा भएको मोबाइल खोलेर रिताको प्रोफाइल हेर्न थाले , निधारबाट चिट्चिट पसिना आउन थाल्यो। तीन चारदिन अगाडिको कुरा थियो। रिताले खुसी भएर भर्खर जन्मेकी आफ्नी प्यारी नातिनीको फोटो फेसबूकमा अपलोड गरेकी थिई । सबैले क्युटी बेबी ,ब्युटिफुल बेबी अनि नाइस बेबी भन्दै कमेन्ट् गरेका थिए ।

मैले पनि कमेन्ट गरेकी थिएँ । एकपटक पढेँ । उफ , यो त बर्बादै भयो। आत्मग्लानिले भत्भत पोल्यो। एकजना आफन्त कोरोनाले मरेको थियो । रिप लेखेँ । त्यो त रिताको स्टाटसमा पो भूलबस् परेको रहेछ । बिचरी नातिनी ! धत्तेरिका म पनि कति महामुर्ख । ठीक त्यहीबेला म्यासेज अायो , “ रिप डिलिट गर् है । ´´