म मलेसियाको नेपाली कामदार

everest kitchen

अमन राई
एसएलसी दुई पटकसम्म पनि पास गर्न नसकेपछि गाउँमै सानो किराना पसल चलाएर बसेको थिएँ । कमाई त खासै के हुनु र त्यहि साथीहरूसँग यसो खोयाबिर्के खान, घुमघाम गर्न र कहिलेकाहि तास खेल्न खर्चसम्म पुगेको थियो । दस पन्ध्र कट्ठा जमिनले बर्षभरी छाक टार्न समस्या नभएकोले घरमा खासै मेरो कमाईको आशा गर्नुपर्ने अवस्था थिएन । तर, छोराले गतिलो काम गरेर सुरक्षित भविष्यको बाटो समातेकोमा बाबुआमा चिन्तित चाहि थिए ।
दशैंछेक पारेर गाउँकै अनिल भन्ने साथी कतारबाट घर आइपुग्यो । उमेरमा एकदुई बर्ष जेठो भए पनि साथीजस्तै थियौं हामी । दुई बर्ष कतार बसेपछि केटो कमाई भन्दा पनि कामको पिरलोले घर फर्किको, ४८ डिग्रीसम्मको तातो घाममा सेकिएर काम गर्नुपर्दा बेलाबेलामा बेहोसै हुनेसम्म हुँदो रहेछ । ‘।कस्तो छ केटा तेरो पसलको कमाई’ एक साँझ कतैबाट नयाँ पल्सर बाइक अगाडी रोकेर मेरो पसलमा टुप्लुक्कियो । ‘।के हुनु यार आलुजस्तो यो पसल सिनो कुरे जस्तो मात्र हो, कमाई छैन यत्तिकै ट्याम पास ।’ मेरो निरासपूर्ण कुरा सुन्दै गर्दा उसले कतारबाट ल्याएको आईप्याड हातमा खेलाउन थाल्यो । गाउँले साथी भए पनि पैसा कमाएर फर्किएपछि अलिक फरक ब्यवहार देखाउन थालेको थियो । ‘जाउँ हिँड मलेसिया एउटा राम्रो कम्पनीमा काम फेला पारेको छु । मेरो सान्दाईपर्ने पनि त्यहि कम्पनीमा काम गर्दैछन् दुई जानै एउटै कम्पनीमा जाम् ।’ अनिलको कुरा सुनेर एकछिन् सोचमा परें । कतार दुईबर्ष बसेर फर्केको मान्छेको चुरीफूरी देखेर पनि एक पटक विदेश त चाख्नैपर्छ भन्ने मनमा पलाएर आयो ‘हुन्छ’ मैले यत्तिकै जवाफ फर्काएँ । उ भोली कागजातको लागी के के तयारी गर्नुपर्छ भनेर सल्लाह गर्न आउने भन्दै फर्कियो ।
घरमा विदेश जाने कुरा चलाउदा सुरुमा त बुबा आमा मान्नु नै भएन । तर, मेरो अनिश्चित भविष्य सहितको लथालिङ वर्तमान देखेर उहाँहरूले धेरैबेर नाईभनिरहन सक्नु भएन । सन् २०१४ डिसेम्बर १० तारिख म अनिलसँगै मलेसिया आएँ । सुरुमा हामी आउदा कम्पनीमा काम राम्रै चल्दै थियो । महिनाको १५÷१६ सय रिंगेट तलब आउदा १२÷१३ सय त सजिलै बचाउन सकिन्थ्यो । रिंगेटको दररेट पनि उकालो लाग्दै गरेको अवस्थामा मलेसिया आएको तीन महिना राम्रैसँग बिताइयो ।
अचानक एक दिन हामीलाई नेपालबाट मलेसिया आउदा एयरपोर्टमा लिन आउने एजेन्ट हाम्रो होस्टलमै आएर भोली देखि अर्कैठाउँमा जानुपर्ने भएकोले झोला तयारी गर्न अर्डर दियो । म र अनिल छक्कप¥यौं र हामीसँगै छक्कपर्नेमा अरु १३ जाना नेपालीहरु पनि थिए । पछि कुरा बुझ्दा थाहा भयो । हामी त कन्ट्रयाक कामदारको रूपमा पो त्यो कम्पनीमा थिएछौं । त्यो एजेन्टको एग्रिमेन्ट सकिएपछि हामीलाई अर्कैठाउँ लिएर गयो ।
जोहोरबारुको कुन कुना हो अहिले नाउँ बिर्सिएँ शहरबाट अलि टाढा जंगल नजिक नजिक पुगेपछि हामीलाई एउटा झुप्रो झाप्रा घरहरू भएको ठाउँमा लिएर गयो । साँझको बेला त्यो ठाउँ एकदमै गन्हाएको भन्दा खासै केहि थाहा भएन । बिहान उठ्दा पो बल्ला थाहा पाइयो । हामी त कवाडी कम्पनीमा कवाडीको काम गर्नेमा पो परेछौं ।
भोलीपल्ट बिहान देखि काम सुरुभयो । हामीभन्दा पूराना छ,–सातजना बंगाली र केहि स्थानिय तामिलहरू त्यो कम्पनीमा काम गर्दा रहेछन् । हामी गएको एक हप्तापछि सबै बंगालीहरूलाई त्यसठाउँबाट अन्तै कतै सारेर लगियो । हामी भने त्यस्तो चर्को घाममा त्यो पनि त्यस्तो गन्हाउने फोहोरी ठाउँमा काम गर्न बाध्य भयौं । हाम्रो काम भनेको बाहिरबाट आएको सबै कवाडीहरूलाई फाल्टै फाल्टै छुट्याउने, जस्तो प्लाष्टिक छुट्टै, फलाम छुट्टै छुट्याएर राख्नुपर्ने । कोहि छुट्याएको सामानलाई स्टोर गर्ने, कोहि सामानलाई जोखेर डाटा टिप्नुपर्ने । दिनभरी काम गाह्रो भएपनि बेलुकी भने केहि आराम हुन्थ्यो । तामिलहरूको बाइक सापटि मागेर दुईजना शहर गएर रक्सि, मासु र अन्य खानेकुरा ल्याएर खान्थ्यौं । हामीले पकाएको खानेकुरा तामिलहरूलाई छुट्याउनै पर्ने नत्र त बाइक मात्रै चलाउन नदिने हैन कामै पनि गर्न नदिनेसम्मको धम्क्याई खेप्नुपथ्र्यो ।
त्यहाँ काम गरेको एक महिनापछि अनिल नराम्ररी थला प¥यो । हामीले कति जोड ग¥यौं कम्पनीमा, एजेन्टलाई हस्पिटल लगिदेउ उपचार खर्च हामी आफै बेहोर्छौंसम्म भन्यौं तर, हाम्रो कुरा न त एजेन्टले सुन्यो न त कम्पनीले । सुरु सुरुमा टाउको दुख्यो भन्दै भमिट गर्ने गरेको साथी अलि थला पर्दै गएपछि शरिरभरी घमौरा जस्तो विविरा देखा पर्न थाल्यो । घरीघरी मात्र बोल्ने गर्न थाल्यो । हामीले जानेको र सकेको सबै औषधि खुवायौं । तर, केहि लागेन । अहिले सोच्दा त्यसलाई डेंगी भएको थियो होलाजस्तो लाग्छ । साह्रै फोहोर ठाउँ थियो । मच्छडहरू त्यत्तिकै लाग्ने ।
एक बिहान मेरो गाउले साथी अनिल ले हामीलाई छाडेर गयो । राम्रो उपचार नपाई उसको मृत्यु भयो । मलाई लाग्यो अनिलले मलाई छाड्यो अब त्यो पापी ठाउँलाई मैले पनि छाड्नु नै ठिक छ । एक साँझ झोला बोकेर साइनोले भिनाजु पर्नेको सल्लाह बमोजिम क्वालालुम्पुरको बस चढें । मलेसिया बसाईको इलिगल जिन्दगी त्यहिंबाट सुरु भयो ।
क्वालालुम्पुर (केएल) मलेसियाको राजधानीमात्र होइन । धेरैलाई सपना देखाउने शहर पनि हो । कसैको भने भएको सपना खोसिने पनि ठाउँ हो । यहाँ हरेक दिन लाखौं सपना पूरा भईरहेको हुन्छन् भने लाखौं सपना टुटिरहेको पनि हुन्छ । केएल आएपछि सिधै सेक्युरिटी गार्डमा काम पाइयो । साइनोले भिनाजु त पर्ने हो तर, बुढाले एजेन्टलाई काम लगाईदिएवापत दिनुपर्छ भनेर मसँग दुईसय रिंगेट झ्वाम पारे । पछि पो थाहा भो एजेन्ट त बुढा आफै पो रहेछन् ।
सेक्युरिटी गार्ड काम गरेको एक महिना पछि तलब आयो । तर, तलब आयो मात्र मैले त्यो तलब चाख्न पनि पाइन । तलब बोकेर बाटोमा फर्किदै गर्दा दुईचार जाना कालेहरूले बाटो छेकेर भए भरको सबै तलब लुटिदिए । यसैगरी झन्डै चार, पाँच महिनासम्म तलब थाप्ने र लुटिने क्रम चल्यो । पछि पो बल्ल थाहा भयो । त्यसका बाजे, त्यो मैले थापेको तलब लिने बित्तिकै लुट्ने त आफ्नै सुपरभाईजरको मान्छे पो रहेछ । मैले तलब पाएको थाहा पाउने बित्तिकै त्यसले केटाहरूलाई पठाउदो रहेछ ।
सेक्युरिटी गार्ड कामले साथ नदिएपछि रावाब तिरको एउटा नेपाली रेष्टुरेन्टमा काम गर्न थालें । सुरुमा किचनमा भाडा माझ्ने हेल्परको रूपमा काम सुरु गरियो । घरमा हुँदा आफूले खाएको थाल पनि नधुने म विदेश आएपछि सारा ग्राहकले खाएको जुठो भाडा धुनेमा परें । जिन्दगी यसरी पनि जिइदो रहेछ । किचेनको काम सिकेपछि बाहिर वेटरको काम पनि सघाउन थालें । वेटरको काम गर्दा गर्दै कम्पनीमा काम गर्ने दुईचार जाना नेपालीहरूको संगत बढ्न थाल्यो ।
संगत बढ्दै गएपछि राम्रो राम्रो कामको जानकारी पाउन थालीयो । घरबाट हिडेको दुई बर्ष हुनै लाग्दासम्म घरमा पठाएको जम्मा रकम भने दुई लाख पनि पुगेको थिएन । सुरुमा आउदा अलि पठाइयो । त्यसपछि त जता जता गइयो, जम्मा भएको पठाइयो । नत्र आफैलाई खादै ठिक्क । नेपाली होटलमा काम सुरुगरेपछि पैसा भने जोगिने । खान बस्न सित्तैमा अनि विदा पनि नपाउने । विदा नपाएपछि फाल्तु खर्च नहुने ।
नेपाली होटलमा काम गर्दा चिनेको साथीहरूको संगतमा लागेर उनीहरूकै छेउको कम्पनीमा काम गर्न गएँ । काम पनि सजिलो तलब पनि टन्नै हुने भनेपछि के नेपाली होटलम भाँडा धुनु भनेर कम्पनी छिरियो । कम्पनीमा हातमा लगाउने पन्जा बन्दो रहेछ । एउटा बजारै जस्तो कम्पनीको बिल्डिङनै मात्र त कति हो कति ।
काम सुरु गरेको केहि दिनपछि एउटै डिपार्टमा काम गर्ने खोलापारीको मैयासँग चिनजान सुरु भयो । दुई बर्ष भन्दा बढीको अनुभवमा मलायु भाषा तानतुन बोल्न सिकिएको थियो । सिकेको भाषा त्यो केटिसँग बोल्न काम लाग्यो । चिनजान दोस्ती, दोस्ती प्रेममा बद्लिन एक महिना पनि लागेन होला, हामी त जनम जनमसँगै एकअर्काको हुने कसम पो खान भ्याईसकेका थियौं ।
हरेक आइतबार कम्पनी प्राय छुट्टि हुन्थ्यो । अरु साथीहरू छुट्टि मनाउन कता कता जान्थें म भने मेरी मैयासँग कहिले होटल, कहिले पार्क तिर जान थालें । सायद त्यसैलाई मैले जिन्दगी मानेको थिएँ । महिनाभरी काम गरेको तलब चार, पाँच वटा आइतबारमा प्राय सकिन्थ्यो । म सोच्थें कति माया गर्छे मोरीले । मेरो लागी प्राणनै दिन्छे होली । यस्तो माया गर्ने मान्छेको लागी त्यत्तिजाबो खर्च गर्न म किन कन्जुस हुनु ?
समय बित्नेक्रममा थाहा भयो । मोरीको त म बाहेक तीन वटा प्रेमि रहेछन् तीनिहरू पनि सोच्दा हुन्, संसारमा सबैभन्दा बढी माया मलाई यसैले गर्छे । जुन दिन त्यसको चर्तिकला थाहा भयो । त्यसदिन देखि त्यो कम्पनीमा काम गर्नै मन लागेन । त्यसपछि क्यामरुन हाइल्यान्डको तरकारी खेति तिर लागियो । त्यहाँ गएपछि भिडियोगेममा जुवा खेल्न सिकियो, दिनभरी मेहेनत गरेर कमाएको पैसा साँझमा चाइनिजले खोलेको भिडियो गेमले सकाईदिने । नजाउँ भन्दा पनि आज त जितिएला भन्यो, भोली त जितिएला भन्यो । सबै तलब सकिएपछि मात्र बल्ला होस खुल्ने ।
यसैक्रममा खै कताबाट एउटा फोन नम्बर हातमा आईपुग्यो । नम्बर नेपाली छोरी मान्छेको थियो । सुरुमा जिस्किने नियतले र पछि रमाइलो गर्ने नियतले फोन गर्न थालियो । विदेशमा नेपाली छोरी मान्छेको आवाज नसुनेको धेरै भएको थियो । कसो कसो कुरा मिली हाल्यो । हामी फोन मै साथी भयौं । कुरा गर्ने क्रममै उनले मलाई केएलमा भेट्न बोलाइन । पहिलो पटकको भेट खासै लामो समयको हुन पाएन । तर, पनि हामी गहिरो साथी बनि सकेका थियौं । उनी विवाहित थिइन् । उनको श्रीमान सेक्युरिटी गार्डमा काम गर्थे भने उनी टीभि बनाउने कम्पनीमा काम गर्थिन । श्रीमान सँगै छ भन्नुमात्रै थियो । उनी दिनभरी कम्पनीमा काम गरेर कोठामा फर्किदा श्रीमान काममा हिड्ने बेला हुन्थ्यो । उनी रातभरी सुतेर काममा हिड्ने बेला श्रीमान कोठामा फर्किने । उनको आइतबार छुट्टि हुने श्रीमानको कहिल्यै छुट्टि नहुने । उनी श्रीमान साथ भएर पनि नभएजस्तो एक्ली थिइन् । म फूर्सद मेटाउन उनीसँग दोस्ती गर्दै थिएँ । दोस्ती कहिले प्रेममा बद्लियो थाहै भएन । उनी र म प्रत्येक आइतबार भेट्न थाल्यौं । भेटघाट अलि बाक्लै भएर हो वा कसैले केहि कुरा सुनाएर हो उनको श्रीमानले हाम्रो बारेमा धेरै शंका गरेछन् ।
कुरै कुरामा एकदिन उनले मलाई भगाएर लैजान भनिन् । मैले सुरुमा अन्कनाएँ तर यसै भएन उसै भएन भन्ने अवस्था आउने सम्भावना देखेपछि मैले उनलाई आइतबारकै दिन पारेर भगाएँ । सुन्दर भविष्यको कल्पना गरेर श्रीमान श्रीमति विदेश पैसा कमाउन आएका उनीहरूको जोडीलाई छुट्याएर मैले उनलाई भगाएर लगें ।
पछि थाहा भयो । उनको श्रीमान केहि महिनामा नेपाल फर्किएछन् । समय क्रमसँगै उनी र म फेरी केएल छेउछाउमै बसेर काम गर्न थाल्यौं । उनी कोरियन रेष्टुरेन्टमा काम गर्थिन म भनें सेक्युरिटी काममै फर्किएको थिएँ । मलेसियामा योग्यता भएपनि नभएपनि नेपालीले सजिलै पाउने काम भनेकै सेक्यूरिटी गार्डको काम हो मैले पनि दोश्रो पटक यो काम पाएँ । हामीसँगै केएल बसेको केहि महिनामा नै कोरियन रेष्टुरेन्टमा मिग्रेसनले छापा हान्यो । अन्य इलिगलसँगै मेरी मैया पनि समातिइन ।
अहिले उनी नेपाल फर्किसकेकिछिन् । दिन्मा दुई पटक फोन गर्छिन, भन्छिन् ‘जसरी नि मलाई लिन आउनु, पहिलेको श्रीमानले अर्कैकेटि ल्याईसकेछ ।’ अहिले म दोधारमा छु । के म नेपाल फर्किएर त्यो एउटा बच्चाको आमा भईसकेकि आईमाईलाई लिएर गएर बुबा आमालाई तपाईकी बुहारी भनेर चिनाउन सकौंला ? विदेश गएर पैसा कमाएर छोराले बुढेसकालमा पालोस भनेर त्यत्रो खर्च गरेर पठाको छोराले पैसा कमाएर पठाउनु त कता हो कता, एउटा विवाहित, बच्चाको आमालाई बुहारी भनेर चिनाउदा मेरा बुबा आमाले त्यो अवस्थालाई सहन सक्नुहोला ? म त्यो आईमाईलाई के भनुं ? केहि जवाफ नै सोच्न सकिरहेको छैन ।
अहिले मलेसियाबाट नेपाल फर्कन हामीजस्ता अवैधानिकहरूलाई बाटो खुल्ला गरेको छ । केहि समय अगाडी एकजना एजेन्टलाई भेटेर दाई अलि सस्तोमा नेपाल पठाईदिनु न भनेर आग्रह गरें । उसले सुरुमा हुँदैन जस्तो कुरा गरेपनि पछि हुन्छ भन्यो । आरएम २८०० मा कुरा मिलाएर १५०० एडभान्स पनि दिएँ । तर, दुईदिन पछि त्यो मान्छे फोन स्वीचअफ गरेर कता हरायो फेलै पार्न सकिन । यसपाला भने विश्वासीलो मान्छे भेटेर काम गराएर घर जानलाई भिसा र टीकट पनि तयार पारेको छु । तर, मनमा हजार कुराहरू खेल्न थालेका छन् । म जस्ता कति नेपाली यूवाहरू आफ्नै देशमा भविष्य सुरक्षित नदेखेर विदेशिएका होलान् । सुरुमा के के न गरौंला भन्ने सपना लिएर मलेसियाको एयरपोर्टमा ओर्लिए होलान । अहिले त्यहि एयरपोर्टबाट फर्किदा कतिले सपना साकार पारे होलान ? कति म जस्तै खाली हात अनिश्चित भविष्य र अध्याँरो अनुहार बनाएर घर फर्किदै होलान ? मैले मलेसिया बसिन्ज्याल समयलाई कहिल्यै सदुपयोग गर्नुपर्छ भनेर बुझ्न सकिन् । मेरो उमेर भइन्ज्याल, मेरो शरिरमा शक्ति भईन्ज्याल मैले परदेशमा बसेको समयको सदुपयोग गर्न सक्नुपथ्र्यो । यहाँ मैले झन्डै ६ बर्ष बिताएँ । यो ६ बर्षलाई मैले पूर्ण रूपमा सदुपयोग गर्न सकेको भए । मेरो भविष्य त उज्ज्वल हुन्थ्यो नै मेरो परिवार, मेरो आमा बुबाको अनुहार कति उज्यालो हुन्थ्यो होला । मलेसिया बसाईका हरेक दिन पैसा कमाउन र त्यसलाई बचाउनमा लागेको भए मैले नेपालमा मेरो भविष्य सुरक्षित बनाउन सक्ने थिएँ । अब त धेरै ढिला भईसक्यो । कहिले केटिको पछि लागें, कहिले रक्सि नै जिन्दगी सम्झिएँ, कहिले जुवा खेलें, कहिले परिवार बिर्सिएँ ।
मैले जिन्दगी नै बर्बाद बनाएँ । अब मेरो जीवनको ६ बर्ष मैले परदेशमा यत्तिकै खेर फालें भनेर पछुताउनुको बिकल्प नै छैन । अब अरुले त्यसो नगरुन् ।
(यस आलेख कुनै एक नेपाली कामदारको जीवन भोगाई होइन । मलेसियामा बस्ने धेरै जसो नेपालीले भोगी रहेको समयक्रमका घट्नाहरूलाई जोडेर तयार पारीएको जीवनगाथा हो । हामी धेरै जसो नेपाली कामदारहरू मलेसिया आउदा धेरै सपनाहरू सजाएर आउछौं तर, यहाँको परिवेश, संगतहरूले ति सपनाहरूलाई भूलेर अर्कै संसारमा रमाउन पुग्छौं जो हाम्रो समाज, परिवार र जीवनलाई घाटा पु¥याई रहेको हुन्छ । जब मलेसिया बसाई सकाएर नेपाल फर्किन लागेका हुन्छौं त्यसबेला मात्र पछुताउनुको कुनै फाइदा हुँदैन । त्यसैले परदेश आएर यहाँ बसिन्ज्यालको समयलाई उज्ज्वल भविष्य निर्माण गर्नको लागी भरपूर सदुपयोग गरौं । (सम्पादक)