कलंकी ट्रक दुर्घटना : थप दुई जनाको मृत्यु

everest kitchen

 

काठमाडौं । काठमाडौँको कलङ्कीमा शुक्रबार साँझ भएको ट्रक दुर्घटनामा घाइते भएका थप दुईको मृत्यु भएको छ । शनिबार बिहान घटनास्थलबाट ट्रक निकाल्ने क्रममा धादिङको थाँक्रेका ४२ वर्षीय राजु पौडेलको शव ट्रकमा च्यापिएको अवस्थामा भेटिएको छ ।

दुर्घटनामा घाइते भएका रञ्जितकुमार चौधरीको भने उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए । यसअघि घटनास्थलमै ओखलढुङ्गा घर भई सडकमा मागी हिँड्ने शङ्कर परियारको मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका रामचन्द्र सिंखडा, सुमन मानन्धर, विशाल श्रेष्ठ, गणेश शर्मा, साजन खत्री, सन्ध्या थिङ र रामबहादुर खरालको उपचार जारी छ ।

हेटौंडाबाट सिमेन्ट बोकेर आउँदै गरेको प्रदेश २–०३००१ ख १४२० नम्बरको ट्रक अनियन्त्रित भई स्कुटर, साइकल, मोटरसाइकल, ट्याक्सी र गाडीलार्इ ठक्कर दिनुका साथै कलङ्कीस्थित कालिका पेट्रोलपम्प नजिक ओरालोबाट पर्खाल भत्काउँदै घरमा ठोक्किन पुगेको थियो ।