मेस्सीले गरे एकै क्लबबाट सर्वाधिक गोल

everest kitchen

एजेन्सी । लियोनल मेस्सीले एकै क्लबबाट सर्वाधिक गोल गर्ने पेलेको रेकर्ड भंग गरेका छन् । बार्सिलोनाबाट ६ सय ४४ गोल गर्दै उनले ब्राजिली लिजेण्ड पेलेको कीर्तिमान भंग गरेका हुन् ।

स्पेनिस ला लिगामा मंगलबार बार्सिलोनाले रियल भालाडोलिडलाई ३–०ले पराजित गरेको खेलमा मेस्सी पनि गोल गर्दै पेलेको रेकर्ड भंग गरेका हुन् । मेस्सीले बार्सिलोनाका लागि तेस्रो गोल गरेका थिए । पेड्रीको ब्याकहिल पासमा मेस्सीले क्लबका लागि तेस्रो गोल गरेका थिए ।

मेस्सीकै पासमा क्लेमेन्ट लिन्गलेटले हेडमार्फत पाहुना टोली बार्सिलोनालाई अघि बढाएका थिए । ३५औँ मिनेटमा मार्टिन बे्रथवेट बार्सिलोनाको अग्रता दोब्बर बनाउने काम गरे । ईन्जुरी समयमा मेस्सीको प्रहार पोस्टमा लागेको थियो । ब्राजिली लिजेण्ड पेलेले १९ सिजन सान्तोषबाट खेल्दै ६ सय ४३ गोल गरेका थिए । उनले सन् १९५६ देखि १९७४ सम्म ब्राजिली क्लब सान्तोषबाट ब्यवसायीक फुटबल खेलेका थिए ।

मेस्सीले बार्सिलोनाका लागि पहिलो गोल सन् २००५ मा गरेका थिए । उनले बार्सिलोनाबाट १० ला लिगा र ४ च्याम्पियन्स लिगको उपाधि हात पारे । यस सिजनको अन्त्यसंगै मेस्सीको बार्सिलोनासंगको सम्झौता सकिदैछ ।