तमु ल्होसारमा ढिँडो खाने प्रतियोगिता

everest kitchen
photo file

तनहुँ । गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसारको अवसरमा ढिँडो खाने प्रतियोगिता हुने भएको छ । गुरुङ समुदायको बाक्लो बस्ती रहेको तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा तमु ल्होसारको अवसरमा बुधबार ढिँडो खाने प्रतियोगिता हुन लागेको हो ।

तमु ह्युला छोंज धिको आयोजनामा ढिँडो खाने प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिए। “यो हामी सुन्दै आएको भन्दा फरक खाले प्रतियोगिता हो । सहभागीले जति छिटो र धेरै ढिँडो खान सक्छन् उही विजेता हुनेछ”, गुरुङले भने। ढिँडो खाने प्रतियोगिताले किसानलाई कोदो उत्पादनमा हौस्याउने उनको भनाइ छ ।

ल्होसारको अवसरमा यहाँ डोरी तान्ने, घैँटो फुटाउने, छेलो हान्ने, गाउँस्तरीय भलिबल प्रतियोगिता पनि आयोजना गरिएको छ । वडाध्यक्ष गुरुङका अनुसार फिरफिरेमा रहेका आठ गाउँलाई आठ समूहमा विभाजन गरी फरक–फरक खानाको परिकारसहित सामूहिक भोजन हुनेछ । ल्होसारको अवसरमा मौलिक घाटु, सालैजो, ठाडो भाका, कौराहा प्रदर्शन हुने वडाध्यक्ष गुरुङले जानकारी दिए ।