पठाओका पाँच राईडरहरु अभद्र व्यवहार मुद्दामा तीन दिनदेखि हिरासतमा

everest kitchen

 

काठमाडौं । कम्पनीको आफुखुसी प्रति असन्तुष्ट जनाउदै पठाओ कार्यालयमा विरोध गर्न गएका ५ जना पठाओका राइडरहरु तीन दिनदेखि हिरासतमा रहेका छन् । प्रहरीले अभद्र व्यवहार मुद्दामा पठाओका ती ५ जना राइडरलाई ३ दिनदेखि हिरासतमा राखेर अनुसन्धान गरिरहेको हो ।

आफ्नो माग सम्बोधन नभएको भन्दै गत सोमबार राइडरको एक समूहले पठाओ कार्यालयमा तोडफोड गरेका थिए। यसपछि पठाओले गरेको किटानी जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, टेकुका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टले जानकारी दिए।

सोही दिन जिल्ला प्रशासन कार्यालय काठमाडौंले राइडरलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। उनीहरूलाई परिसरमा राखेर अनुसन्धान भइरहेको उनले बताए।

केही समययता कम्पनीविरुद्ध आन्दोलित हुँदै आएको पठाओ राइडरहरुको ठूलो समुह जम्मा भएर मध्येबानेश्वरस्थित पठाओको कार्यालयमा गएको सोमबार कार्यालय तोडफोड गरेको थियो ।

कम्पनीले कुनै सेवा सुविधा नदिएको, राइडरको कमिसनमा ठगी गरेको साथै आफूखुसी निर्णयहरु गर्ने गरेको लगायतका आरोप राइडरहरुले लगाउँदै आएका छन् । यसैबीच उक्त समुहले केहि समय अघि कार्यालयमा पुगी ११ बुँदे मागपत्र समेत पेश गरेको थियो । कम्पनीले उक्त मागपत्र अनुसारको माग सम्बोधन गर्न नसक्ने बताएपछि राइडरहरु आक्रोशित हुदै कार्यालयमा तोडफोड गरेको हुनसक्ने बताएको छ ।

साथै पठाओले लगातार राइडरहरुबाट २० प्रतिशत कमिसन लिएर लुट मच्चाएको, अनावश्यक रुपमा कारबाही गरेर ११३० रुपैयाँ असुल गर्दै आएको लगायतका असन्तुष्ट राइडरहरुले जनाएका छन् । एक राइडरका अनुसार बाइक आफ्न‌ै ,तेल आफ्नै, खर्च आफ्नै हुदापनि मनोमानी रुपमा २० प्रतिशत कमिसन लिने गरेको बताए । उनका अनुसार सय रुपैयाँको राइड सेरिङमा २० रुपैयाँ कम्पनीले राख्ने र ४०/५० रुपैयाँको तेल खर्च हुनेहुदा ३० रुपैयाँ बच्ने बताए ।