अनलाइनमार्फत टिकट काट्ने बढे, दैनिक २ हजार सम्मले अवलोकन गर्छन् चिडियाखाना

everest kitchen

 

काठमाडौं । स्वास्थ्य मापदण्ड पूरा गर्दै आठ महिनापछि खुलेको ललितपुरमा रहेको सदर चिडियाखानामा अनलाइनबाट टिकट काट्ने अवलाकनकर्ताको सङ्ख्या बढेको छ ।

पहिलो पटक चिडियाखानाले अवलोकनकर्ताका लागि अनलाइन टिकटको व्यवस्था गरेको थियो । शुरुका दिनमा एक÷दुई जनाले मात्रै अनलाइनबाट टिकट काट्ने गरेकामा अहिले दैनिक १० जना पुगेका छन् । कोरोना भाइरसको जोखिमका कारण चिडियाखाना गत चैत ७ गतेदेखि बन्द थियो । गत मङ्सिर २५ गतेदेखि चिडियाखाना पुनः खुला गरिएको हो ।

चिडियाखानाको वेबसाइट वा इसेवामार्फत टिकट काट्न सकिने व्यवस्था मिलाइएको जनाइएको छ । व्यवस्थापनले स्वास्थ्य मापदण्ड पूरा गरी तिहारपछि खोल्ने तयारी गरे पनि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट निर्णय नआउँदा खुल्न सकेको थिएन ।

चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवी पोखरेलले कोरोनाको जोखिम अझै कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर चिडियाखाना खुला गरे पनि अवलोकनकर्ता उत्साहजनरुपमा आएको बताए ।

लामो समयको बन्द पछि खुलेको उक्त चिडियाखानामा शुरुका दिनमा बढीमा ५०० अवलोकनकर्ता आउने गरेका थिए । अहिले दैनिक दुई हजारसम्म अवलोकनकर्ता आउन थालेका छन् । व्यवस्थापक पोखरेलले भने, “जोखिम कायमै रहेकाले खुला गरे पनि अवलोकनकर्ता आउँछन् वा आउँदैनन् भन्ने विषयमा चिन्ता थियो तर आशाअनुरुप आएका छन्, पुनःसञ्चालनकै शुरुको दिन यही २५ गते ५०० मान्छे आएका थिए भने अहिले दैनिक दुई हजार अवलोकनकर्ता आउने गरेका छन्, कोरोनाको जोखिम थप नबढे आगामी दिनमा अवलोकनकर्ता थपिनेछन् ।”