निर्वाचनका लागि तयार रहन कार्यकर्तालाई सभापति देउवाको निर्देशन

everest kitchen

काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन वा पुनःस्थापना जे भए पनि अदालतको निर्णयको पर्खाइमा कांग्रेस रहेको बताएका छन् ।

सडकमा आन्दोलन गरेर र धम्क्याएर आफ्नो पक्षमा फैसला गर्न लगाउने प्रवृत्ति गलत रहेको स्पष्ट गर्दै उनले अदालतको फैसला कांग्रेसलाई मान्य भएको बताए ।

कांग्रेस केन्द्रीय खेलकुद विभागद्वारा सिन्धुपाल्चोकको बाह्रबिसे–३ मा आयोजित प्रथम कोमलमाया–खडक बस्नेत स्मृति फूटबल प्रतियोगिताको समापन समारोहमा बोल्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट गरिएको प्रतिनिधिसभा विघटन असंवैधानिक भए पनि अदालतबाट आउने फैसला मान्न कांग्रेस तयार रहेको बताए ।

‘अहिले मुद्दा अदालतमा विचाराधीन छ, कांग्रेसजस्तो प्रजातान्त्रिक पार्टीले यसो गर, उसो गर भनेर दबाब दिँदैन,’ उनले थपे, ‘अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेछ भने हामी ससंद्मा सशक्त रूपमा प्रस्तुत हुन्छौं, चुनावमा जाने निर्णय गरेछ भने चुनावमा भाग लिन्छौं र त्यसका लागि तयारी पनि गर्छौं ।’

कांग्रेस सधैं स्वतन्त्र न्यायपालिकाको पक्षमा रहेको बताउनुहुँदै सभापति देउवाले अदालतलाई पक्ष वा विपक्षमा फैसला गर्न सडक संघर्ष नगर्ने देउवाले प्रस्ट पारे । स्वतन्त्र निकायलाई स्वतन्त्र रूपमा नै निर्णय गर्न दिनुपर्छ, न्यायालयलाई कुनै पनि रूपमा प्रभावित बनाउन नहुने उनको भनाइ छ ।

असंवैधानिक कदमको विरोधमा कांग्रेसले अहिले देशभर कार्यक्रम गरिरहेको बताउँदै उनले निर्वाचन हुने अवस्था आए तयार रहन कार्यकर्तालाई आह्वान पनि गरे । गोरखापत्र दैनिकमा खबर छ ।