बिर्खेको डर 

everest kitchen

 

लघुकथा : बिर्खेको डर  निर्मला बराल

बिर्खे एकसुरले जुठा भाँडा माझिरहेको थियो । उसको मालिक नजिकै टेबलभरी व्यापारिक हिसाब किताबका फायलहरू छरेर कुर्सिमा बसेका थिए । बेलावखत उनको छड्के आँखा बिर्खमा पर्दै पनि थिए । बिर्खे भने आफ्नै सुरमा गुनगुनाउँदै जुठाभाँडा चम्काईरहेको थियो।
कानै फुटाउने गरि एक्कासी मालिकको चर्को स्वर बिर्खेको कानमा पर्यो ।

“होइन ए जिलीगांटे, तँ गीत मात्र गाउँछस कि फटाफट भाँडा पनि माझ्छस, हँ ?” बिर्खे एकछिन मौन झैं भयो । फेरि मालिकतिर हेर्दै उसले प्रतिक्रिया जनायो “यतिका भाँडा मैंले गितकै धुनमा आधा घन्टामा माझिसकें, हजुरलाई के थाहा !” “भो भो बढी नबोल, भेटलास् नि चड्कन !”
गित मात्रै गाउने हो भने,यहाँ भाडा धस्काउन किन आउथिस र !

मालिकको गालीले बिर्खेको सुर नै हराए झै. भयो । उ भाँडा पखाल्न हत्तारियो। कप पखाल्दै गर्दा अचानक उसको हातबाट चिप्लियो र भुँइमा प्याट्ट फुट्यो । घर मालिकले त प्रत्यक्ष आँखैले देखे । उता, के निहुँ पाऊँ कनिका केलाउँ भने झै. गर्ने घर मालिक्नीको कानमा पनि कप बज्रिएको आवाज पर्यो ।

बिर्खेले कल्पना नै गर्न सकेन कतिखेर मालिक्नी आएर उसका दायाँ गालामा एक चडकन लगाइसकिछन् । बेस्मारी दुखेपछि मात्र उसले थाहा पायो । “हैन तँलाई काम गर्न मन छैन?भएजति कप सबै फुटाएर सिध्याउने भइस, हैन ! त्यस दिन दुवै जनाको नराम्रोसँग बिर्खेले गाली खायो । राती उसलाई हन्हन् ज्वरो आयो । ऊ केहि नखाइ सुत्यो ।

बिर्खेलाई ज्वरो आएकोले भोलिपल्ट घरको काम सबै गर्नुपर्दा स्वाँस्वाँ फ्वाफ्वा भयो दुबैलाई। सकि नसकि बुढीले चिया बनाइन् । दुवै जना बसेर आरामले चिया पिउन पर्यो भनि किस्तिमा चिया राखेर बैठक कोठामा पुगिन । टेवलमा राख्नै लाग्दा अचानक उनको हातबाट किस्ति चिप्लिएर दुबै कप प्याट्ट भयो !

कप फुटेको आवाज बिर्खेको कानमा पनि नराम्रोसँग ठोकियो । हन्हन् ज्वरो आको बिर्खे एकदम डरायो । ज्वरोले इन्तु न चिन्तु ऊ बर्बराउँदै करायो –“जानेर फुटाको होइन् ! एक पल्टलाई माफ गरिदिनु, हजुर ! ऐया, ऐया !
मालिक, मालिक्नी बिर्खेको बर्बराहट सुनेर ट्वाल्ल परेर अँध्यारो अनुहार पारेर मुखाँमुख गरिरहे !!