पत्रकार महासङ्घ युरोप शाखाद्वारा पत्रकार सम्मानित

everest kitchen

युरोप। नेपाल पत्रकार महासङ्घ युरोप शाखाले भर्चुअल माध्यमबाट ५०औँ शृङ्खला एक कार्यक्रम आयोजना गरी पत्रकार सम्मान गरेको छ । बेनेलक्सका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा केन्द्रका पूर्वअध्यक्षका साथै वैदेशिक शाखाका अध्यक्ष र प्रेस सङ्गठन, प्रेस युनियनका अध्यक्ष, संयोजकलगायत सम्पूर्णलाई सम्मान गरेको थियो ।

सम्मानित हुनेमा अग्रज पूर्वअध्यक्ष किशोर नेपाल, डा सुरेश आचार्य, तारानाथ दाहाल, धर्मेन्द्र झा, डा महेन्द्र विष्ट, हरिहर विरही, होमनाथ दाहाल, विष्णु निष्ठुरी, शिव गाउँले र वर्तमान अध्यक्ष गोविन्द आचार्य रहेका छन । त्यसैगरी प्रेस युनियन नेपालका अध्यक्ष बद्री सिग्देल, फोनिज नेपालका अध्यक्ष डण्ड गुरुङ, प्रेस सङ्गठन नेपालका संयोजक महेश्वर दाहाल, प्रेस सङ्गठन नेपालका सहसंयोजक गणेश बस्नेत, सञ्चारिका समूह नेपालका अध्यक्ष नितु पण्डित र प्रेस युनियन नेपाल बेलायतका अध्यक्ष बिपीन निरौला रहेका छन्।

वैदेशिक शाखाका अध्यक्ष नरेश खपाङ्गी मगर बेलायत, मोहन घले जापान, रञ्जनराज कुँवर दक्षिण कोरिया, करिम बक्स मियाँ कतार, हरिकृष्ण न्यौपाने कुवेत, मेघराज सापकोटा (कावाअध्यक्ष) युएई, हेमन्त काफ्ले अष्ट्रेलिया, गोविन्द पोखरेल भारत, लक्ष्मण खनाल युएई, प्रस्तावित बेल्जियम शाखाका संयोजक ओम शर्मा, पोर्चुगल शाखाका संयोजक योगेन्द्र मिलन छन्त्याललाई पनि शाखाले सम्मान गरेको हो ।

सम्मानपत्र र मायाको चिनो काठमाडौँमा हुने नेपाल पत्रकार महासङ्घ केन्द्रीय अधिवेशनमा एक समारोहका बीचमा प्रदान गरिने नेपाल पत्रकार महासङ्घ युरोपका अध्यक्ष केन्जिन राईले बताएका छन । पूर्वअध्यक्ष तारानाथ दाहालले समस्त युरोपमा छरिएर रहेका पत्रकारबाट नेपालले धेरै कुरा सिक्न सक्छ भन्दै क्रियाशील रहन आग्रह गरे।

पूर्वअध्यक्ष धर्मेन्द्र झाले देश र समाजलाई प्रवासबाट जोड्दै युरोपका पत्रकारले आफ्नो कामसँगै पत्रकारितालाई संस्थागत गराउन सफल भएकामा खुशी व्यक्त गरे । अर्का पूर्वअध्यक्ष डा महेन्द्र विष्टले पत्रकार महासङ्घ केन्द्रको शाखा विस्तारमा सराहनीय भूमिका रहेको उल्लेख गर्दै विदेशी शाखाको काम भनेको नेपालीलाई अनलाइन मिडियामार्फत जोड्न पत्रकारको भूमिका वस्तुगत र तथ्यगत हुनुपर्ने बताए।

त्यस्तै पूर्व अध्यक्ष डा सुरेश आचार्यले देशको अस्थिरता र वर्तमान कोभिड–१९ को प्रभावका कारण पत्रकारहरुले जीविकाका लागि विकल्प खोज्नुपरेको उल्लेख गर्दै सङ्घ सङ्गठनमा उम्मेदवार बन्नका लागि राजनीतिक पार्टीमा नजोडिएसम्म उम्मेदवार हुन नपाउने तीतो अनुभव रहेको विचार राखेका थिए।