महोत्तरीको भंगहामा “मेयर गोल्ड कप फुटबल प्रतियोगिता २०७७” आज देखि सुरु

everest kitchen

सुरेन्द्र महतो

महोत्तरी । प्रदेश नं. २ कै ठुलो धनराशि भएको फुटवल प्रतियोगिता महोत्तरीको भंगहामा शुरु भएको छ । भंगहा नगरपालिकाको आयोजना तथा स्थानिय नेशनल युथ क्लवको सहआयोजनामा करिब ३० लाखको लागतमा मेयर गोल्डकप २०७७ को शुभाराम्भ भएकोे हो ।

अखिल नेपाल फुटवल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाको प्रमुख आतिथ्यमा शुरु भएको सो उदघाटन कार्यक्रममा प्रदेश नं. २ का अर्थमन्त्रालयका सचिव काशीराज दहाल, प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमली, महोत्तरीका प्रहरी उपरिक्षक टिका केसी लगायतका खेलप्रेमीहरुको उपस्थिती रहेको थियो ।

शनिवारदेखि शुरु भएको सो प्रतियोगितामा राष्ट्रिय स्तरका ८ वटा क्लवहरुको सहभागिता रहेको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लव (काठमाडोै), धरान फुटवल क्लव, नेपाल एपीएफ क्लव (काठमाडौं), सतासीधाम स्पोटिङ्ग क्लव (झापा), लेखनाथ युनाईटेड क्लव (पोखरा), वेङ्गखाडी यूवा क्लव (महोत्तरी), विजय यूथ क्लव (हेटौंडा), बागमती युवा क्लव सहभागी रहेका छन् । माघ २५ गतेसम्म संचालन हुने सो प्रतियोगितामा प्रथम हुनेलाई ५ लाख पुरस्कार र दोस्रो हुनेलाई २ लाख पुरस्कारको व्यवस्था गरिएको छ ।

पहिलो खेलमा त्रिभुवन आर्मी क्लव विजयी
शनिवारदेखि शुरु भएको उदघाटन खेलमा त्रिभुवन आर्मी क्लब काठमाण्डौ विजयी भएको हो । त्रिभुवन आर्मी फुटवल क्लव र धरान फुटवल क्लव बीच भएको खेल बराबरी रोकिएपछी पेनाल्टी सुट आउटमा आर्मी बिजय भएको हो ।

पहिलो खेल त्रिभुवन आर्मी क्लव र धरान फुटवल क्लव बीच भएको खेलमा पेनाल्टीमा आर्मीका तर्फबाट ६ र धरानको तर्फबाट ५ गोल भएको थियो । धरान फुटवल क्लवको फितलो प्रदर्शन रहेको थियो भने खेल अवधी भरी त्रिभुवन आर्मी फुटवल क्लव हाबी रहेको थियो ।

खेलको म्यान अफ दि म्याच आर्मीका गोलकिपर विवस चौधरी भएका छन् । चौधरीले ५ हजार नगद र टर्फी सहित सम्मान गरिएको छ । भोली नेपाल एपीएफ क्लव (काठमाडौं) र सतासीधाम स्पोटिङ्ग क्लव (झापा) बीच हुनेछ ।