म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ्ग साङ्ग सुकीसहितलाई सेनाद्धारा पक्राउ

everest kitchen

ऐजेन्सी । म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ्ग साङ्ग सुकीलाई त्यहांको सेनाले पक्राउ गरेको छ । उनीसंगै त्यहांका अन्य थुप्रै नेताहरुलाई पक्राउ गरिएको विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

गएराति म्यानमारमा निर्वाचित जनप्रतिनिधिहरुमाथि भएको धरपकडले सो मुलुकमा फेरि सैनिक कू भएको आशंका गरिएको छ । सुकीको पार्टीका प्रबक्ता मायो न्युन्टलाई उदृत गर्दै रोयटर्सले जनाएअनुसार सुकीसहितका नेताहरुलाई त्यहांको सेनाले पक्राउ गरेको हो ।

उनीसंगै त्यहांको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेशीका अन्य नेताहरु पनि पक्राउ परेको बीबीसीको समाचारमा उल्लेख गरिएको छ । पक्राउ गरिएका नेताहरुलाई सेनाले कहां र कसरी राखेको छ भन्ने कुरा कतै उल्लेख गरिएको छैन । मध्यरातमा भएको धरपकडको अर्थ म्यान्मारको सेनाले सैनिक कू नै गरेको हो कि भन्ने आशंका गरिएको छ ।

समाचारअनुसार, गएको नोभेम्बर महिनामा भएको संसदीय निर्वाचनमा सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेश (एनएलडी) ले त्यहांको सरकार संचालन गर्न पर्याप्त पुग्ने गरी संसदमा बहुमत हासिल गरेको थियो । यद्यपि त्यहांको सेनाले सो चुनावलाई जालसाझीपूर्व भएको प्रतिक्रिया दिएको थियो ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार, नव निर्वाचित संसदको अबिधेशन आज सोमबारदेखि शुरु हुनुपर्ने थियो ।