पार्टीको आधिकारिकता दाबी गर्ने, ओलीलाई पार्टीको साधारण सदस्यबाटै हटाउने

everest kitchen
photo file

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा जाने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय गरेको हो ।

त्यस्तै, केन्द्रीय कमिटीको बैठकले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै र विष्णु पौडेललाई महासचिवबाट समेत हटाउने स्थायी कमिटीको निर्णय पनि अनुमोदन गरेको छ ।

प्रतिनिधिसभा विघटनसँगै दुई खेमामा विभाजित नेकपाको प्रचण्ड–माधव समूहले अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर माधवकुमार नेपाललाई चयन गरेको थियो भने ओली पक्षले केन्द्रीय कमिटी विस्तार गरेको थियो । दुवै समूहले राजनजीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार त्यही विवरण अध्यावधिक गर्न आयोगलाई पत्र लेखेका थिए ।

तर ११ माघमा बसेको निर्वाचन आयोगको बैठकले दुवै पक्षका दाबी अस्वीकार गर्ने निर्णय गर्‍यो । आयोगले पार्टी एकतापछि २३ जेठ २०७५ मा बुझाएको ४४१ केन्द्रीय सदस्य तथा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्षलाई मान्यता दिएको थियो ।

बैठकमा ४४१ को दुई तिहाइ सहभागी भएको प्रचण्ड माधव समूहको दाबी छ । बैठकले त्यसको लिखित जवाफसहित आयोगमा जाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए।