गाउँपालिका केन्द्र विवादमा कार्यालयमा तालाबन्दी

everest kitchen

पोखरा। कास्कीको मादी गाउँपालिकाको केन्द्र सार्न सिफारिस गरिएको निर्णयविरुद्ध असन्तुष्ट पक्षले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् ।

गाउँपालिकाको सिफारिसमा गण्डकी प्रदेश सरकारले सो पालिकाको केन्द्र हालको मादी–३ याङ्जाकोटबाट साझा बेतेनीमा सार्न सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको भोलिपल्ट मङ्गलबार असन्तुष्ट पक्षले गाउँपालिकामा तालाबन्दी गरेको हो ।

राजनीतिक सहमति र स्थानीय स्वायत्त शासन ऐनविपरीत पालिकाको केन्द्र सार्ने निर्णय गरिएकाले आन्दोलनमा उत्रिनुपरेको स्थानीय काँग्रेस नेता एवं स्थानीयवासीको तर्फबाट गठन गरिएको सङ्घर्ष समितिका संयोजक नारायण गुरुङले बताए । गाउँसभाले केन्द्रका लागि चार विकल्प सिफारिस गर्ने सर्वसम्मत निर्णय गरे पनि गाउँपालिकाले एकलौटीरूपमा बेतेनीमा केन्द्र बनाउन सिफारिस गरेको गुरुङको दाबी छ । असन्तुष्ट पक्षको माग पालिकाको केन्द्र याङ्जाकोटमा नै रहनुपर्ने र सिफारिस प्रक्रियाप्रतिसमेत आपत्ति जनाएको छ ।

छैटौँ गाउँसभाले पालिकाको केन्द्र वडा नं ४ र ५ अन्तर्गत मादी करिडोर छेउपर्ने बेतेनी वडा नं ३ स्थित याङ्जाकोट देउराली, वडा नं ४ को तारकाङस्थित माजडी र साविक वडा नं ३ स्थित याङ्जाकोट गरी चार विकल्प तय गरेको थियो । गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले वार्र्ता र छलफलका माध्यमबाट समाधान गर्न सकिने भए पनि पूर्वजानकारीबिना एक्कासी तालाबन्दी गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

स्थानीय शासन ऐनअनुसार पालिकाको केन्द्र परिर्वतनका लागि सर्वसमम्त निर्णय गर्नुपर्ने हुन्छ । सर्वसम्मत नभएको खण्डमा दुईतिहाइ बहुमतबाट समेत पारित गरेर प्रदेश र सङ्घ सरकारलाई सिफारिस गर्न सकिने प्रावधान छ ।