मोबाइलको लतले बालबालिकामा मानसिक समस्या देखिने

everest kitchen

 


काठमाडौं । आफ्नो छोराछोरी मोबाइल अति नै चलाउने र धेरैबेर नचलाउन भन्दा झर्किने गर्छन् भने बुझ्नु होस् उनीहरूमा मोबाइलले समस्या ल्याएको छ । बालबालिकालाई ‘भुल्याउन’ मोबाइल चलाउन दिँदा उनीहरू विस्तारै गेम (खेल) र पोर्नो (अस्लील) साइटप्रति आकर्षित हुने गरेको सम्बन्धित विज्ञहरू बताउँछन् ।

कोरोना महामारीका बेला मोबाइलको प्रयोग झन् बढ्यो ।
समय बिताउन होस् वा विद्यालयले सञ्चालन गरेको अनलाइन कक्षा पढ्न पनि मोबाइल प्रयोग गर्नुपर्ने अवस्था आयो ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका महासचिव गुणराज मोक्तान बालबालिकालाई पठनपाठनसँगै व्यस्त बनाउन सहजीकरण गरे पनि एक किसिमको लत नै विकास भएको बताउन्छन् ।
मोबाइल ‘प्रयोग गर्न जाने फलिफाप, दुरुपयोग गरे अभिशाप’ हुने भएकाले अभिभावकको निगरानी आवश्यक भएको उनको भनाइ छ ।

मोबाइलको लतले बालबालिकामा मानसिक समस्या पनि देखिने सम्भावना हुन्छ । मनोरन्जन र ज्ञानगुनका कुरामा भन्दा अनलाइन खेलप्रति बालबालिकाको आकर्षण बढ्दै गएको छ । यतिसम्मकी अनलाइन गेम खेल्न घरबाट पैसा चोरी गरेका घटना समेत सार्वजनिक हुन थालेका छन् । अनलाइन खेल खेल्न ई–पे (टपअफ) गर्ने लत बसेको छ ।

बूढानीलकण्ठस्थित एक घरबाट केही दिनअघि भएको २५ हजार रुपियाँ चोरीमा घरधनीकै छोरा संलग्न पाइयो । एसईईको तयारीमा जुटेको छोराले चोरी गरेको रकम अनलाइन गेममा खर्च गरिसकेको प्रमाण फेला परेपछि अभिभावक झस्किएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृत एवं प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द ‘छोराछोरीको आनीबानीप्रति अभिभावक सचेत र सतर्क नहुँदा यस्ता घटना बढ्दै जाने बताउन्छन् ।

त्यस्तै रुपन्देहीमा ‘पब्जी’ नामको अनलाइन गेम हारेका कारण आत्महत्याको प्रयास गरिरहेका एक बालकको नेपाल प्रहरीको साइबर ब्युरोले उद्धार गरेको छ । कार्टुन तथा ज्ञान दिने ‘एप्स’ र वेभसाइट भन्दा बालबालिकामा अनलाइन गेमप्रतिको आकर्षण बढी देखिन्छ ।

साइबर ब्युरो प्रवक्ता नविन्द अर्यालका अनुसार पब्जी, फ्रि–फायर, क्वाइन मास्टर, ज्याकपट म्याजिक स्लट, मोबाइल ले–जेन्ड्स र ई–फुटबललगायत ‘एप्स’ खेलको लतमा फसेका बालबालिकामा झनक्क झर्किने, रिसाउने र खेलमा भाग लिन रकम चोरीको समस्या बढी देखिन्छ । गोरखापत्र दैनिकबाट